काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले संसद् भवन अगाडि नागरिकले आत्मदाह गर्ने स्थिति आउँदा पनि सरकार मौन बसेको बताएको छ ।
अनेरास्ववियूले विज्ञप्ति जारी गर्दै देशकै अत्यन्त संवेदनशील क्षेत्र संसद भवन अगाडि एउटा नागरिकले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्ने परिस्थिति बन्दै गर्दा समेत यो राज्य मौन बसेको बताएको हो ।
अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जारी गरेको वक्तव्यमा भनिएको छ,‘ गृह प्रशासनको आँखै अगाडि एउटा सुन्दर सपना बोकेको युवा जलिरहन्छ तर, सुरक्षा निकाय ,गृह मन्त्रालय न त त्यो युवाको सुन्दर सपनालाई साकार बनाउन सक्छ न त भौतिक शरीरको रक्षा यस्ता हावादारी ,उडन्ते र कस्मेटिक गृहमन्त्रीबाट नागरिकको जनधनको सुरक्षाको ग्यारेण्टी हुने आधार के ? मंगलबार अपरान्ह संसद् भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर अस्पतालमा निधन भएको हो।
विज्ञप्तिमा भनिएको छ बुधबार एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवं विद्यार्थी इन्चार्ज रामकुमार भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न बैठकले हाम्रो मागलाई सम्बोधन गर्दै मध्यपश्चिम विश्वविद्यालयले चैत्र ३ गते गरेको स्ववियू निर्वाचन घोषणाको हार्दिक स्वागत गर्दै अन्य विश्वविद्यालयका पदाधिकारीलाई तत्काल स्ववियू निर्वाचनको मिति घोषणा गर्न हाम्रो संगठन जोडदार माग गर्दै मुलुकमा घटिरहेका समसामयिक विषयप्रति अनेरास्ववियूको धारणा यसै विज्ञप्ती मार्फत सार्वजनिक गर्दछौं भनिएको छ ।
विज्ञप्तिमा अहिले सरकारका मन्त्रीहरु वहुरुपी र वहुरङ्गी देखिन्छन् । कोही मन्त्रीहरु संघीयता खारेजीको वकालत गर्दछन् । कोही मन्त्रीहरु काम र परिणाम भन्दा पनि मिडिया स्ट्रन्टमा केन्द्रित देखिन्छन् । हत्या अभियोग लागेका अपराधीहरु संसदीय अभ्यासमा सहभागी भईरहन्छन तर आफ्नै नागरिकता सम्वन्धि प्रश्न उठेका गृहमन्त्री वालहटको चिच्चाहट गरिरहन्छन् । उनलाई शान्ति सुरक्षाप्रति जवावदेही वन्नु छैन । राज्यलाई जनउत्तरदायी वनाउनु छैन । मात्रै वक्तव्यवाजी र कुर्सी चाहिएको छ । नालायक ढंगले गृहमन्त्रीको कुर्सीमा वस्न अहिलेका गृहमन्त्री कत्ति पनि लायक छैनन् भनिएको छ ।
अहिलेको सत्ता गठवन्धनको मुख्य घटकको प्रमुख नेता संसदको रोष्टमवाट यो व्यवस्था र संविधानको धज्जी उडाइरहन्छ । संविधानको मर्मविपरित जनताको सार्वभौमसत्ता सम्पन्न संसद विघटनको वकालत गरिरहन्छ । यस्ता व्यवस्था विरोधी, प्रतिगामी कमेडियन शैलीप्रति अनेरास्ववियू आपत्ति प्रकट गर्दै सत्ता गठवन्धनको नेतृत्व गरेका प्रधानमन्त्री समक्ष यी प्रश्नहरुको उत्तर चाहन्छ ।
भ्रष्टाचार, महङ्गी, कालावजारी अनियन्त्रित छ । आर्थिक संकटका कारण मुलुक थिलथिलो वन्दै गएकोले जनताको जनजिविका नराम्ररी प्रभावित वनेको छ । तर जनता र जनजिविकाप्रति यो सरकार उदाशीन देखिन्छ । सरकारले तत्काल मूल्य नियन्त्रण गरी जनतालाई राहतको अनुभूति दिलाउन अनेरास्ववियू हार्दिक अनुरोध गर्दछ भनिएको छ
यो सरकारको वनावट नै सत्तास्वार्थको लागि विपरीत धुर्ववीचको एकता जस्तो देखिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाका पक्षधर र यो व्यवस्था विरोधीवीचको गठवन्धन सरकारको आयु कहिले सम्म ?
आउदो स्ववियू निर्वाचनलाई एउटा विद्यार्थी समुदायको उत्सवको रुपमा लिदै अनेरास्ववियूका सम्पूर्ण नेताकार्यकर्तालाई निर्वाचनमा परिचालन हुन निर्देश गरिन्छ समेत गरेको छ ।