काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून ) मा वर्तमान उपाध्यक्ष नवराज अर्यालको प्यानलले उम्मेदवारी दिएको छ ।
निर्वाचनमा अर्यालको प्यानलमा नेपाली कांग्रेसलाई८,नेकपा माओवादी केन्द्रलाई ४, राप्रपालाई २ र नेकपा समाजवादीलाई ४ सिट बाँडफाँड गरि उम्मेद्वारी परेको छ भने एमालेको तर्फबाटवर्तमान अध्यक्ष दीपक पनेरुको टिमले पनि उम्मेद्वारी मनोनयन भएको छ । अर्याल टिमबाट बरिष्ठ उपाध्यक्षमा निरञ्जन सेढाइ, महिला उपाध्यक्ष रीता श्रेष्ठ महा सचिवमा सीमा पुरी सचिवमा पुरुषोत्तम नेपाल, कोषाध्यक्ष सुवासचन्द्र घिमिरेले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी सदस्यमा राजेश कुमार श्रेष्ठ, खिलनाथ सिग्देल, अनन्त केसी, पुष्कर सापकोटा, रोशनबाबु श्रेष्ठ, दामोदर लम्साल, कृष्णप्रसाद आचार्य, श्रीराम केसी र मनबहादुर तामाङले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी लेखा संयोजकमा अनिता थापा अधिकारी र सदस्यमा पुण्यप्रसाद सापकोटा दामोदर पौडेलको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष अर्यालले पनेरु नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून ) को नेतृत्वमा रहेकाले कास्कूनको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्नुभएको छ ।
बागमती प्रदेशको सहकारी ऐनमा माथिल्लो तहको नेतृत्वमा गएपछि तल्लो तहको पदबाट राजिनामा दिनुपर्ने ब्यवस्था छ । तर, नेफ्स्कूनमा कोषाध्यक्ष रहेका पनेरु भने कानुन विपरित स्वार्थ बाझिने गरी तल्लो तहको संघमा आउनु भएको थियो । उहाँ नेतृत्वमा आएपछि कास्कुनले सहकारी ऐनको व्यवस्था विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ ।
निर्वाचन कार्यक्रम अनुसार पुष २६ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, पुष २७ गते उम्मेदवारी दर्ता, उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोध, छानविन र निर्णय, पुष २८ गते उम्मेदवारी फिर्ता र ३० गते निर्वाचनको कार्यक्रम तय भएको छ ।
सहकारी अभियानमा विगत २ दशकदेखि कार्यरत अर्याल कास्कुनमा साझा नेतृत्व लिएर अघि बढेकोले पनि उहाँको जित सुनिश्चि प्राय देखिएको छ ।