काठमाण्डौ चैत्र २८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) केन्द्रीय कृषि तथा भुमि व्यवस्था विभागले नेपालको समग्र कृषिको दिगो विकास र कृषिको समाजवादी रुपान्तरण सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा आयोजित अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको हो । अर्थतन्त्रको मुख्य आधारको रुपमा रहेको कृषि क्षेत्रको विकास र बहुसंख्यक साना किसानको हितका विषय, निर्वाचनको संघारमा पार्टीको कृषि सम्वन्धी नीति, घोषणापत्रमा समावेश गर्नुपर्ने विषय तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको लागि सुझावहरु समेत प्रस्तुत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
विभागका प्रमुख तथा अखिल नेपाल किसान महासंघको अध्यक्ष बलराम बाँस्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभागका उपप्रमुख महासंघका महासचिव प्रमेश पोखरेल र कृषि विज्ञ तथा विभागका सदस्य डा.कृष्ण पौडेलले कृषिको समाजवादी रुपान्तरण विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अवधारणागत कार्यपत्र प्रस्तुत गर्दै प्रमेश पोखरेलले, हावापानी र भुगोल सुहाउँदो पर्यावरणीय कृषिको अभ्यास नै नेपालमा सहि अभ्यास हुने बताउनुभयो । खाद्य सम्प्रभुताको प्रत्याभुत गर्ने गरी कानुन लागु गर्ने तथा नवउदारवादी नीतिबाट कृषिलाई संरक्षीत र सुरक्षीत गर्नु नै कृषिको समाजवादी रुपान्तरणको बाटो भएको उहाँले प्रस्तुत गर्नुभयो ।
नवउदारवाद, साम्राज्यवाद र पुँजीवादले नेपालको कृषि क्षेत्रमा पारेको प्रत्यक्ष तथा अप्रत्यक्ष असरको कारण नेपालको कृषि क्षेत्र धराशायी भएकोले अव ढिला नगरी खाद्य सम्प्रभुताको दिशामा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले कृषिको रुपान्तरणले आत्मनिर्भर अर्थतन्त्र, पर्यावरणीय र आर्थिक न्याय, सामुहिक सहकारी खेती, जलवायु अनुकुलन, कृषिको विशिष्टिकरण, विविधिकरण, प्रविधि हस्तान्तरणका विषयमा ध्यान दिनुपर्ने तथा साना किसानलाई केन्द्रमा राखी नीति योजना कार्यक्रम बन्नुपर्नेमा जोड दिनुभयो ।
कृषिमा सामुदायिक तथा वर्र्गीय हिसाबले महिला, युवा र भुमिहीन दलीत किसानका विषयमा विशेष सम्वोधन नगरी अगाडी बढ्न नसकिने एथार्थ प्रस्तुत गर्दै कृषिमा तत्काल पाँच विषयमा सरकार, सारेकारवाला निकाय तथा किसान संघहरुले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यसमा कृषि अनुसन्धान सुचना, संचार, प्रविधि, कृषि शिक्षा, प्राविधिक ज्ञान सीप र कृषि प्रसार , भण्डारण र बजारीकरण, कृषिमा लगानी, अनुदान, रिण तथा सुरक्षण र दिगो, पर्यावरणीय, प्रांगारिक अभ्यास । साथै किसानको वर्गाीकरणको आधारमा साना तथा बञ्चितकरणमा पारिएका समुदायको पहुँचमा कृषि कर्जा, अनुदान र लगानीका कार्यक्रमको व्यवस्था हुनुपर्ने, सहकारीकरणलाइ कृषिमा केन्द्रीत गर्ने, साथै नेपालको कृषिको क्रान्तिको लागि उत्पादनको श्रोत साधन माथि उत्पादकको पुर्ण स्वामित्व हुनुपर्ने, जमिनको चक्ला बन्दी गरिनुपर्ने , कृषिको निरन्तर अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने, तुलनात्मक लाभको खेती, सामाजिक न्यायमा आधारित खाद्य सम्प्रभुताको अधिकार सुनिश्चित गर्ने कृषिको मोडल अवको कृषि मोडलकोरूपमा प्रस्तुत गर्नु भएको थियो ।
नेपालको कृषि उल्टो दिशामा अघि बढेको यथार्थ प्रस्तुत गर्दै कृषि विज्ञ डा.कृष्ण पौडैलले टाउकोले टेकेको कृषिलाई खुट्टामा उभ्याउनुपर्ने बताउनुभयो । आफ्नो कार्यपत्र प्रस्तुत गर्दै डा.कृष्णप्रसाद पौडेलले कृषि विकासको समाजवादी ढाँचा शिर्षकमा मानिस र प्रकृतिबीच सन्तुलन कायम गर्ने कृषि प्रणाली हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँको कार्यपत्रमा प्रस्तुत मुख्य मुख्य विषयहरुमा, कृषिमा थपिएका चुनौतिहरु, खेती र जीवन पद्धति, प्रकृति सम्वत कृषिको मूल्यमान्यता र मार्गदर्शक सिद्धान्त, कृषिको एकीकृत ढाँचा , न्यायपूर्ण र समतामूलक समाजवादी दृष्टिकोणमा आधारित प्रकृति र समाजकोे अन्तरसम्बन्ध, रसायन र विषादीमुक्त खेती प्रणाली र प्रकृतिको दोहन र कृषि श्रमिकको शोषण रहित समाजवादी अवधारणा रहेको थियो ।
उहाँले प्रकृति र मानवको दोहनमा आधारीत कृषिको विकल्प खोज्नुपर्ने, माटोको संरुक्षण गर्नुपर्ने तथा एकीकृत कृषि प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभयो ।
छलफलको क्रममा डा. समित थापा, श्री चन्द्र विष्ट, रिता फुयाल, विपिन पराजुली लगायतले आफ्नो धारण प्रस्तुत गर्नुका साथै आफ्ना प्रश्नहरु राख्नुभयो । जवाफको क्रममा क्युवा, इन्डोनेशीया, ब्राजिलका किसानको उदाहरण प्रस्तुत गर्दै कसरी पर्यावरणीय कृषिले पनि उत्पादकत्व वृद्धि र किसानको समृद्धिका विषयलाई सम्वोधन गर्दछ भन्ने तथ्यहरु राखीएको थियो ।
कार्यक्रमले हरेक वडामा कृषि प्राविधिकको व्यवस्था गर्ने, हरेक पालिकामा सरकारीमा आधारीत एकीकृत कृषि फार्म संचालन गर्नुपर्ने, कृषि क्षेत्रलाई प्राथमितामा राखी बजेट आउनुपर्ने लगायतका विभिन्न सुझावहरु पार्टीको घोषणापत्र र आगामी बजेटका लागि प्रस्तुत गरेको छ ।
कार्यक्रममा सिंचाई, जल, सहरकारी, वातावरण, लगायतका क्षेत्रको समेत प्रतिनिधित्व गरी करीव ४० जनाको सहभागीता रहेको थियो ।