काठमाण्डौं चैत्र २७
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले अवको यात्रा समाजवादको भएको बताउनु भएको छ । शनिबार पार्टीको काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता खनालले ‘आफूहरु समाजवादी क्रान्तिको चरणमा जाँदै गरेको भन्दै समाजवादको बाटोमा जानु आवश्यक भएको बताउनु भएको हो ।
उहाँले अवसरवादको खण्डन गरेर कम्युनिष्ट पार्टीलाई थप बलियो बनाएर लानुपर्ने जिम्मेवारी आफ्नो पार्टीको हातमा आएको भन्दैे आगामी निर्वाचनको आचारसंहितालाई कार्यान्वयन गर्ने वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयो ।
गठबन्धन जोगाएर सहमतिअनुसारको उम्मेदवार चयन गर्नुपर्ने समेत उहाँको भनाई थियो । उहाँले नेपाललाई उपभोक्ताको देश बनाइएको भन्दै राजाका पालामा स्थापना भएका उद्योग धन्दाहरूसमेत निजीकरण गरेर खत्तम पारिएको बताउनु भयो ।
‘३ करोड नेपालीले एक वर्षमा दुई जोर जुत्ता फेर्दा वर्षमा ६ करोड जुत्ता बिक्री हुन्थ्यो । तर स्वदेशमा उत्पादन हुने बाँसबारी जुत्ता कारखाना कहाँ गयो ?’ उत्पादन हुन थालेका कारखाना बन्द गराएर आज नेपालीहरू विदेशी कागज, कपडा प्रयोग गर्न बाध्य भएको प्रसंग निकाल्दै खनालले समाजवादको बाटो भनेकै देशमा उद्योग धन्दा, बजार बनाउनु र उपभोग गर्ने वातावरण बनाउनु भएको बताउनु भयो ।
‘देशलाई औद्योगीकरण गर्ने हो भने समाजवादको बाटो जानुपर्छ,’ उहाँले भन्नुभयो शिक्षालाई उत्पादनमूलक र निःशुल्क बनाउनुपर्ने उहाँको भनाई थियो ।
केन्द्रमा दुई तिहाइ बहुमतको सरकारदेखि प्रदेश सरकार बनाउँदा क्रान्तिको अवसर भएपनि नेकपा चुकेको उहाँको भनाइ थियो ।
‘हामी भूमिसुधार, कृषि क्रान्तिदेखि विभिन्न क्रान्ति गर्न सक्थ्यौँ । तर ४२ महिनासम्म नेकपा एमालेको गुटको नायक खड्ग प्रसाद ओलीले फुटेको कौडीको पनि काम गर्न नसकेको उहाँको भनाई थियो ।
ओलीले देशलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेल्दै गएको भन्दै गैरजिम्मेवार व्यक्तिको हातमा नेतृत्व पुग्दा देशले दुःख पाएको बताउनु भयो ।’
नेकपा एकीकृत समाजवादी ढक नभएर दशौँ क्विन्टल भएको दाबी गनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि एक कार्यक्रममा पाँच दलीय गठबन्धनलाई एकएक किलोको ढक भनेपछि नेता खनालले त्यसको जवाफ फर्काउँदै यस्तो बताउनु भएको हो ।
ओलीको पार्टी ढक हो कि क्विन्टल हो ? आगामी निर्वाचनबाट देखिन्छ । पछिल्लो नतिजालाई हेर्दा हरेक जिल्लामा एकीकृत समाजवादी टन होइन दशौँ टन बन्छ हेर्दै जानुस् ।’ उहाँले भन्नु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले चुनावको घोषणापत्र ल्याएपछि पार्टीको लक्ष्य, नीति र विचार स्पष्ट हुने खनालले बताउनु भयो ।