आज चैत २७ । सहिद रत्न बान्तवाको ७० औँ जन्मजयन्ती तथा ४३ औँ स्मृति दिवस। एक स्वर्णिम भविष्यको सपना देखिरहेको र त्यसप्रतिको सृजनशील लगाव, आलोचनात्मक चेत र अदम्य साहस बोकिरहेको जो कोही क्रान्तिकारी र देशभक्त युवाहरू महान् सहिद रत्न वान्तवाप्रति जानकार हुनुपर्दछ।
त्यसो त विकराल राजनीतिक अवस्थासँगै धेरै मानिसलाई सहिद रत्न बान्तवाले जनवादी क्रान्तिका लागि खेलेको भूमिका, बोकेको विचार र देखेको सपना आज अमुक पार्टी, नेता-कार्यकर्तालाई मागी खाने भाँडो र जपि खाने मन्त्र शिवाय अरू केही भएको छैन । ठिक एक वर्ष अगाडि र सोही गते युवा संघ नेपालको पाँचथर जिल्ला युवा भेला सम्पन्न गरी इलामको बैठकतर्फ बिहान फर्कन लागेका थियौँ । युवा संघ नेपालका अध्यक्ष क.नरेश शाहीले इलाम सदरमुकाममा हुन लागेको बैठक सहिद रत्नको घरमा गर्न उपयुक्त हुने सुझाव दिनुभयो।
मैले संघका केन्द्रीय उपाध्यक्ष क. मुना शर्मा, इलाम इन्चार्ज क. भाइचुंग लामा, क.महेश तिवारी जिल्ला अध्यक्षसँग सम्पर्क छलफल गरी चित्रे गाउँस्थित सहिद रत्नको घरमा बैठक गर्ने निधो गरियो । सोही बमोजिम सबै साथीलाई सर्कुलर गरियो । यात्राका क्रममा रहेका क. प्रत्युस राना र क. भाइचुंगले घरी सहिदहरूको बारे त घरी कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाको बारे धेरै कुरा क.नरेशलाई सुनाइरहनुभएको थियो । तर, मेरो मन भने कता–कता बिचलित र बेचैन भइरहेको थियो । करिब सवा दुई घण्टापछि फिदिम–राँके–रक्से हुँदै चित्रे गाउँस्तिथ सहिद रत्नको घरमा पुग्यौँ ।
हामीभन्दा अगाडिनै पूर्वसांसद, क. मणि लिम्बू पुगिसक्नु भएको थियो, जसले एमाले इलामको पटक–पटक नेतृत्व गरिसक्नु भएको छ । हामीले अभिवादन गर्यौँ। क. नरेश र मणिबीच सहिद रत्नका बारेमा अनौपचारिक सम्वाद भयो । इलामका विभिन्न ठाउँबाट साथीहरू आउने क्रम जारी थियो। क मुना, क. निर्भिक खनाल, क. रमेश बोखिमलगायत हामी एकोहोरो सुनिरहेका थियौँ। स्थानीय केही युवा साथीसहित कमरेड महेश बान्तवा (सहिद रत्नको भाइ) आइपुग्नुभयो।
हामीले हार्दिक अभिवादन गर्यौँ । क. महेश बान्तवा सम्बन्धले कोपा (हजुरबुबा) पर्ने भएकाले धेरै वर्षपछिको भेटमा उहाँसँगको सम्बन्धलाई नवीकरण गरें। क. महेशले नेकपाभित्रको समस्या र पार्टी नेताहरूको कार्यशैलीबारे दुःख प्रकट गर्दै सहिद रत्नको घर ढोकाको ताल्चा खोलिदिनुभयो। हामी घरभित्र प्रवेश गर्यौँ। त्यसपछि रत्नले खनेको सुरुङभित्र प्रवेश गर्यौँ । सुरुङभित्रको बैठक कक्ष हेर्यौँ । हुन त सुरुङ अवलोकन भने मेरो तेस्रो पटक हो। सुरुङ असाधारण त छँदैछ, त्यो निरंकुश पञ्चायतकालीन समयमा रत्नको अद्भूत साहस र क्रान्तिकारिताको जति ब्याख्या गरे पनि कम हुन्छ। फेरि, क. नरेशले क. महेशसँग सम्वाद गर्न थाल्नुभयो । हामीले हाम्रा जिज्ञासाहरू राख्न थाल्यौँ । क. महेशले सहिद रत्न चैत २७ गते जन्मनु भएको र २७ वर्षको उमेरमा चैत २७ गतेनै क्रान्तिका लागि जीवन बलिदान गरेको कुरा भाबुक हुँदै बताउनुभयो । सिंगो चित्रे गाउँले असाध्यै दुःख र पीडा पाएको भक्कानिँदै भन्नुभयो। मेरो मन मस्तिष्क ‘क्यानभास’मा दुम्सीका काँडाहरूले घोच्न थाल्यो ।
(२७ वर्षे रत्न, त्यो चित्रे गाउँ, रत्नका सहयोद्धाहरू र परिवारका सदस्यहरूलाई निरंकुश पञ्चायतीहरूले दिएको पीडा र बर्बर यातनाले थिलथिलो परेका ज्यानहरू …. ।) तर, टल्कीरहेको समानता र न्यायका ओजस्वी दीपहरू भने अवश्य बलिरहेका थिए तर त्यो चित्रे गाउँ अझै उजाड र पट्यारलाग्दो छ । व्यवस्था र अवस्था फेरियो तर सास फेर्न सकिएन भने जस्तै गैरकम्युनिष्टहरूको विजय र राज अझै चलिरहेको छ। क.मणि लिम्बू र महेशले हाम्रा जिज्ञासाका उत्तरहरू दिइरहनुभएको थियो।
इलामका विभिन्न ठाउँबाट कमिटीका अधिकांश साथीहरू आइरहनुभएको थियो । सहिद रत्नको घर प्राङ्गणमा रहेको रत्न स्मृति प्रतिष्ठानको हलमा बैठक सुरू भयो। क. नरेश, क.मणि क. मुना र मैले नेकपाभित्रको संकटबारे चर्चा गर्दै उपस्थित सम्पूर्ण साथीले महान् सहिद रत्न बान्तवाप्रति श्रद्धा सुमन अर्पण गर्यौँ। नेपालको सिंगो कम्युनिष्ट आन्दोलन दक्षिणपन्थ अवसरवादबाट ग्रसित थियो। नेकपा दुई टुक्रा (एमाले धारा र माओवादी धारा)मा विभक्त भइसकेको थियो भने केपी ओली गुट एमालेलाई व्यवस्थित नगरेर नेकपा फुटको खरानीमा धुलो उडाइरहेको थियो । इलामे लाल युवाहरू क्रान्तिकारी भूमिका चलिरहेको बैठकमा घनिभूत छलफलमा थियो।
दिनभरि चलेको बैठकमा तत्कालीन पार्टी नेतृत्व केपी ओलीको दम्भी अहंकारी र स्वेच्छाचारिताका कारण सिंगो आन्दोलन संकटमा परेको, संविधानमाथि बलजफ्ती गरी दुई/दुई पटक संसद् भंग गरेको साथै दुई तिहाइ नजिकको संसद् भंग गर्ने कदम दक्षिणपन्थ अवासरवादले ग्रसित रहेको ठहर गर्यौँ । महान् सहिद रत्न, बम बान्तवाजस्ता सहिदहरूको घोर अपमान र सहिद परिवारहरूको चीरहरण भएका कारण क्रन्तिकारी पार्टी र संगठनले मात्र समाजवादी क्रान्ति सम्पन्न गर्न सक्दछ भन्ने निष्कर्षका साथ हामी सबैले शिर झुकाएर सम्मानका साथ सहिद रत्न र बमको सालिकमा माल्यार्पण गरी बैठक सम्पन्न भयो ।
सन्ध्याकालीन बादलका घुम्टोहरूले सहिद रत्नको सालिकलाई ढाकिरहेको थियो। हामी हाम्रा गन्तब्यतर्फ लाग्न थाल्यौँ । सहिद रत्नको घर र सुरुङ पस्दा पक्कै पनि मानिसहरूलाई कुनै पावन मन्दिरमा पसे जस्तो अनुभव हुनेछ। कुनै शक्ति पिठको यात्रा गरे जस्तो हुनेछ । सहिद रत्न बान्तवा क्रान्तिकारीहरूका लागि प्रेरणापुञ्ज हो। क.रत्नले भत्काएका इतिहासलाई जोडेर एउटा नयाँ इतिहास कोर्ने जिम्मा वर्तमानले हामी युवालाई दिएको छ । फेरि पनि महान् सहिद रत्न बान्तवाप्रति भावपूर्ण श्रद्धाञ्जली ! हार्दिक श्रद्धा सुमन !! संग्रामी लाल सलाम । !!!
लेखक : युवा संघ नेपालका उपमहासचिव तथा प्रवक्ता हुन् ।