काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालले जोशीको आइतबार बिहान निधन भएको हो । १०३ वर्षीय जोशी २४ दिनदेखि सोही अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो । डेङ्गु संक्रमणपछि उहाँलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर उहाँलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।
उहाँलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएपनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उहाँको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।
सँस्कृतिविद जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुनुहुन्छ।
२०७१ सालमा त्रिमूर्ति निकेतनले उहाँलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । जोशीकै उचाइबराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।
२०७० सालमा पद्मश्री साधनाबाट सम्मानित हुनुभएका थियो । नेपाल सरकारले उहाँलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’बाट मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।
उहाँको नाममा २५०० मुल्यको सिक्का र रु १० को हुलाक टीकट समेत निस्कासन र प्रकाशन भएको छ ।
ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो । जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो ।
आज शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर दिउँसो सर्वसाधारणको श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालयको परिसरमा राखिने भएको छ। महानगरमा दिउँसो ४ बजेसम्म सर्वसाधारणले जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न सक्नेछन्।
प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य सरकारी उच्च पदस्थ व्यक्तिहरू पनि श्रद्धाञ्जलीका लागि ललितपुर महानगर परिसर पुग्ने बताइएको छ।
सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरिसकेपछि जोशीको पार्थिव शरीरलाई फेरि किस्ट अस्पतालमै ल्याइनेछ।
जोशीले आफ्नो शरीर दान गरिसकेकाले धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिने छैन।
औसत उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भए पनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ भन्ने जानकारी मिलोस् भनेर उनले आफ्नो शरीर दान गर्न घोषणा गरेका थिए।