चैत २४
सुदूरपश्चिमका जिल्लाहरुमा स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका दलबीच वडा तहसम्मै तालमेलको गृहकार्य सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र अछाममा गठबन्धनले वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेको हो ।
डोटी, कैलाली, डडेल्धुरा, बझाङमा पनि सत्ता गठबन्धनबीच तालमेलका लागि छलफल भइरहेको बताइएको छ । अछाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जिल्लाका १० वटै स्थानीय तह र ९१ वटै वडामा गठबन्धन गरेर जाने निर्णय गरिसकेका छन् । तीनै दलका जिल्ला अध्यक्षले गत सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न स्थानीय तहका कमिटीहरूलाई पनि आग्रह गरेका छन् ।
कञ्चनपुरमा कांग्रेस, माओवादी, समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेको छ
कैलालीमा गठबन्धनका दलहरू वडासम्मै गठबन्धन गरेर जान सहमत भएका छन् । बुधबार बसेको गठबन्धनको बैठकमा वडा तहसम्मै गठबन्धन गर्ने सहमति भएको छ । सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीका १३ तहमध्ये अहिले एमालेका सात, कांग्रेसका चार र माओवादीले दुई तहको नेतृत्व गरेका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पाँच दलको बैठकले केन्द्रमा भएको चुनावी तालमेलको निर्णयको स्वागत गर्दै गठबन्धनलाई प्रभाव पार्ने अभिव्यक्ति कसैले नदिने सहमति गरेको छ ।
बैतडी, दार्चुला र बाजुरामा पनि तालमेलका लागि अनौपचारिक छलफल भइरहेको गठबन्धनका नेताहरूले बताएका छन् ।