पर्सा असोज १०
सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभएको छ ।
पर्साको पश्चिम क्षेत्रमा रहेको ठोरी गाउँपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत सहरी पूर्वाधार निर्माण कार्यक्रमका लागि करिब १० करोडका आयोजनाहरुको शिलान्यास गर्दै आइतबार मन्त्री चौधरीले उक्त कुरा बताउनु भएको हो ।
‘भगवान् रामसँग जोडिएको ठोरीको समग्र विकासमा सबै जुटौँ । यस्तो ऐतिहासिक ठाउँको बृहत्तर विकास गर्ने सवालमा यो दल त्यो दल नभनौँ । यसो गर्न सकिएमा हिन्दु धर्मावलम्बीहरुको घुइँचो लाग्ने छ । धार्मिक पर्यटनको राम्रो गन्तव्य बन्ने निश्चित छ ।’ मन्त्री चौधरीको भनाइ थियो ।
ठोरीलाई चिनाउन, ठोरीको प्रचार गर्न र विकासका आयोजनाहरु निर्माणको पहल गर्न ठोरी आएको बताउँदै मन्त्री चौधरीले जननिर्वाचित प्रतिनिधिहरुले सबैलाई समेटेर नेतृत्व गर्न आग्रह समेत गर्नुभयो ।
ठोरी माधव ताल, पञ्चेश्वर धाम, ठोरी बजार पूर्वाधार निर्माण, विजय बस्ती सभा हाल, सरस्वती मावि भवन निर्माण, सडक विस्तार, पिच तथा ढलानलगायत दर्जनौँ आयोजनाहरुको शिलान्यास कार्यक्रममा सहरी मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सह सचिव पद्म कुमार मैनाली, ठोरी गाउँ पालिकाका अध्यक्ष लालबाबु श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, एकीकृत समाजवादी पर्साका कार्यबाहक अध्यक्ष गंगा बहादुर खड्का, मनोज चौधरी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य बृजलाल पासवान, पर्सा जिल्ला अध्यक्ष मनोज पटेल लगायतले मन्तव्य राख्नुभएको थियो ।