असोज १
इलामको सूर्योदय नगरपालिकामा विभिन्न एकीकृत सहरी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत ५० करोडका कार्यक्रम शिलान्यास भएका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र शहरी विकास मन्त्री मेटमणि चौधरीले ६ महत्वपूर्ण सडक शिलान्यास गर्नुभएको छ ।
सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत फिक्कल रिङ रोड, हुरहुरे भन्ज्याङ् ग्यावाचोक, छब्बीसे -छिरुवा सडक, रातमाटे -माने डाँडा सडक, माने भन्ज्याङ -च्यामेखोला गोर्खे सडक शिलान्यास गरिएको छ भने आयआर्जन जन्य पूर्वाधारतर्फ नगर बसपार्क, चिस्यान केन्द्र, कन्याम पार्क, पोखरी संरक्षण देखि पोखरी सौन्दर्य करण सम्म रहेका छन् ।
शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सूर्योदय नगरपालिकालाई सुन्दर, आधुनिक र नमुना बनाउने बताउनु भयो । इलाम हिरा हो तर कुद्न बाँकी छ भन्दै खनालले भन्नुभयो, ‘रिङ रोडको विकास, शन्दुकपुरको थप विकास, श्री अन्तु डाँडाको सुन्दरतमा वृद्धि, होम स्टे, चिया बगान, यसको सौन्दर्यको अन्तर्राष्ट्रियकरण गरिनेछ । व्यापार, बिजनेस थप बढ्ने छ ।’
इलामले कला, साहित्य र संगीतमा समेत अनेकन प्रतिभा जन्माएको बताउँदै इलामलाई देशकै सुन्दर जिल्ला बनाउन लागिपर्ने धारणा पूर्व प्रधानमन्त्री खनालले राख्नुभएको थियो । शिलान्यासकै क्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले झलनाथ खनाल जस्तो व्यक्तित्व भएको, पर्यटन र उत्पादनमा चिनिएको सुन्दर इलामलाई थप सुन्दर, व्यवस्थित बनाउन सहरी मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
सूर्योदय नगरपालिकाका मेयर रनबहादुर राईले इलामको विकासका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सहरी मन्त्री चौधरीले गरेको प्रयासको प्रशंसा गर्नुभएको थियो ।