सोलुखुम्बु भदौ २८
सहरी विकास मन्त्री मेटमणि चौधरीले खुम्बु पासाङ ल्हामु गाउँपालिका-४,पाङ्बोचेमा नवनिर्मित खुम्जुङ स्वास्थ्य चोकीको उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा उहाँले सर्वोच्च शिखर सगरमाथाको काखमा आउन पाउँदा निकै खुसी लागको बताउनु भयो । ‘खुम्बुबासीको माया म भुल्ने छैन,’ उहाँले भन्नुभयो , ‘यति सुन्दर ठाउँमा पर्यटक भित्र्याउन म पनि लागिपर्नेछु ।’
विकासको काममा दलभन्दा माथि उठ्नुपर्ने भन्दै मन्त्री चौधरीले ‘भोलि पदमा रहुँला वा नरहुँला तर खुम्बुको विकासमा सधैँ पहल गर्नेछु,’ , ‘यहाँको जनताको विकासको चाहना पुरा गर्न लागिपर्नेछु ।’
कुल ३ करोड ६९ लाख् लागतमा निर्मित स्वास्थ्य चौकी सिएम कन्स्ट्रक्सन प्रालि जोरपाटीले निर्माण गरेको हो । १८ महिनामा सम्पन गर्ने भनेर सम्झौता भएको सो भवन ११ महिनामै सम्पन्न गरेकोमा मन्त्री चौधरीले ठेकेदार कम्पनीको प्रशंसासमेत गर्नुभयो ।
१२ हजार ८७५ फिटको उचाइमा निर्मित सो भवन सम्भवतः नेपालकै सबैभन्दा उचाइमा निर्मित सरकारी भवन हो ।
सो अवसरमा मन्त्री चौधरीले सात सय वर्ष इतिहास भएको पाङ्बोचे गुम्बाको निरिक्षण गर्नुका साथै यसको पुननिर्माणका लागि ७ करोड विनियोजन गर्ने घोषणा समेत गर्नुभएको छ ।
त्यसैगरी ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नतीका लागि २० करोड, गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १२ करोड, हिमाली सहर लुक्लालगायत अन्य तीन सहरको विकास विस्तार गर्न र एकीकृत बस्ती विकासकालागि डिपिआरदेखि हाइ अल्टिच्युड स्पोर्ट सेन्टर तथा कन्फेरेन्स हल निर्माणका लागि ८ करोड विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।