लेखनाथ सिकारु
“प्रत्येक व्यक्तिलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुने छ । यस अधिकारमा विना हस्तक्षेप आफ्ना विचारहरू राख्न पाउने स्वतन्त्रता, सीमाको विना बन्देज कुनै पनि माध्यम मार्फत सूचना र विचार खोज्ने, पाउने र फैलाउने अधिकार प्रत्येक व्यक्तिलाई हुने छ” ।
- ( संयुक्त राष्ट्र सङ्घको मानवअधिकार घोषणापत्रको धारा १९ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सम्पूर्ण मानव अधिकारको मानकको रूपमा लिने गरिन्छ । यस सन्दर्भमा सञ्चारविद् जोहनमिल्टनले “मलाई अरु सबै स्वतन्त्रता छाडेर स्वतन्त्रतापूर्वक थाहा पाउने, विचरण गर्ने र चेतनाले भ्याए अनुसार सहमत हुने अधिकार देऊ” भनेका छन् ।
यही कारण पनि वाक तथा अभिव्यक्ति स्वतन्त्रता उच्च दर्जाको मानव अधिकारका रूपमा गणना गरिएको हुनुपर्छ । आजको विश्व सूचना तथा सञ्चारको युगको रूपमा पनि चित्रित गरिन्छ । विश्वका अधिकांश लोकतान्त्रिक मुलुकहरूमा सूचनाको अधिकारलाई आधारभूत मानव अधिकारको रूपमा स्थापित गरिएको छ । सन १९४८ मा पारित संयुक्त राष्ट्रसङ्घको मानव अधिकार सम्वन्धी विश्वव्यापी घोषणापत्रको धारा १९ मा “प्रत्येक व्यक्तिलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुने छ । यस अधिकारमा विना हस्तक्षेप आफ्ना विचारहरू राख्न पाउने स्वतन्त्रता, सीमाको विना बन्देज कुनै पनि माध्यममार्फत सूचना र विचार खोज्ने, पाउने र फैलाउने अधिकार प्रत्येक व्यक्तिलाई हुने छ” भनिएको छ । यो व्यक्तिको प्रमुख मौलिक अधिकार हो ।
नेपालको संविधानको धारा २७ मा सूचनाको हकलाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरिएको छ । सूचनाको स्वतन्त्रताले अपरिहार्य मानवअधिकारको रूपमा विश्वव्यापी मान्यता पाएको छ । यो अधिकार अझै स्पष्ट पार्न र सहज तथा अनिवार्य रूपमा लागू गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय, क्षेत्रीय, महादेशीय, सन्धि, सम्झौता, घोषणाहरू भएका छन् । सूचनामा पहुँचलाई अन्तर्राष्ट्रिय मानवअधिकार र वातावरण संरक्षण तथा भ्रष्टाचार विरोधी विषयका रूपमा प्रशासनिक कानुनको एउटा महत्वपूर्ण अङ्ग बनाइनुपर्छ भनेर सूचनामा पहुँचको अधिकार बढाउने उद्देश्यले सम्झौता, सन्धि, सङ्कल्प, निर्देशिका र विधेयक तर्जुमा गर्न विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले काम गरिरहेका छन् ।
हुन पनि सरकारका ३ वटा अङ्गहरू विधायिका, कार्यपालिका र न्यायपालिकाको निगरानी (वाचडग) गर्ने भएकै कारण पत्रकारितालाई चौथो अङ्गसमेत भन्ने गरिएको छ । पत्रकारिता जगतले खास गरी जन अधिकारको हाम्रो देशमा सूचनाको अधिकारलाई केवल प्रेसको अधिकारको रूपमा बुझिने सङ्कुचित अवधारणाको विकास भएको पाइन्छ । वकालत र विचार विनिमय गर्नु, पत्रकारिताको सिध्दान्त मूल्य मान्यतालाई अक्षुण राख्दै आम नागरिकहरूको अर्थात आवाज विहीनहरूको सुसूचित हुने र गर्ने दायित्वबोध गर्नु, नागरिकलाई आफ्नो अधिकार र कर्तव्यवोध गराउनु र शासकलाई जिम्मेवार र कर्तव्यवोध गराउनु आजको आवश्यकता हो ।
आम नागरिकहरूको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको सुरक्षाका लागि वोल्ने लेख्ने र वकालत गर्ने काम आम सञ्चार माध्यमबाट सञ्चारकर्मीहरूले नै गर्ने हो । आवाज विहीनहरूको आवाजको रूपमा परिचित आम सञ्चार क्षेत्रले सूचना संप्रेषण गर्ने जोखिमपूणर् पेशा हो र पत्रकार त्यसको मुख्य अङ्ग हो । सूचनाको अधिकार र नागरिक अधिकारको बिचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ ।
हाम्रो देशमा सूचनाको अधिकारलाई केवल प्रेसको अधिकारको रूपमा बुझिने सङ्कुचित अवधारणाको विकास भएको पाइन्छ । सूचनाको अधिकार नागरिक अधिकारलाई समृद्ध बनाउने एउटा माध्यम मात्र हो भने प्रेस यी दुईबिचको सेतु हो । यसरी हेर्दा नागरिक अधिकार, प्रेसको अधिकार र सूचनाको अधिकार एक अर्कामा अन्तर सम्बन्धित र पर निर्भर पनि छन् । यसर्थ सूचना केवल प्रेसको विषय मात्र होइन यो नागरिक अधिकारको अभिन्न अङ्ग हो ।
सूचनाको अधिकारले नागरिकलाई राज्य यन्त्रसम्मको पँहुचमा सहजता प्रदान गर्दछ भने यसले सुशासन र जवाफदेहितालाई अभिवृद्धि गरेर भ्रष्टाचार नियन्त्रणमा सवैभन्दा दरिलो हतियारको काम पनि गर्दछ । तर अधिकारहरूको श्रेणीमा सबभन्दा माथि नागरिक अधिकार रहेको हुन्छ त्यसैले भनिन्छ यो आधारमा विश्लेषण गर्दा हरेक नागरिकको अधिकारको संरक्षण र प्रचलनलाई अर्को नागरिक वा राज्यले पहिलो प्राथमिकता दिनुपर्दछ । सूचना र सञ्चारको हकको उदेश्य पनि नागरिक अधिकारको प्रत्याभूतिकै लागि हो । यसर्थ नागरिक अधिकारको सुरक्षा र संरक्षणकै निमित्त सूचनाको हक र सञ्चारको हकको प्रत्याभूति गरिएको हो भन्ने तथ्यमा कुनै विवाद हुन सक्दैन ।
मानव अधिकारको प्रयोगलाई आम नागरिक समक्ष पुर्याउने काम पनि पत्रकारिताको हो । सार्वजनिक हितका खातिर्र िनर्भयतापूर्वक अक्षरको खेती गर्नु पत्रकारिताको धर्म पनि र अपेक्षा पनि हो । कानुनी राज्यको प्रवर्धन र लोकतन्त्रको संवर्धनमा स्वतन्त्र प्रेसको महत्वपूणर् भूमिका छ । वास्तवमा पे्रस तथा अभिव्यक्ति स्वतन्त्रता अन्य सबै खाले स्वतन्त्रताहरूको मुटु हो भन्दा अत्युक्ति हुँदैन ।
लोकतन्त्रमा नागरिक जति बलिया हुन्छन् र राज्य पनि त्यति नै बलियो हुनुपर्दछ । नागरिक स्वतन्त्रता र वलशाली राज्य व्यवस्थाको सन्तुलन नै लोकतन्त्र हो । बलियो र स्थिर सरकार विकास तथा समृद्धिको लागि जति सहज हुन्छ नागरिक स्वतन्त्रता र सूचनाको हकको संरक्षणका लागि त्यति नै चुनौतिपूणर् पनि हुन सक्छ । बलियो सरकारलाई प्रेसको आलोचनाले असर नगर्ने भएकोले
त्यसबखत नागरिक स्वतन्त्रताहरू धरापमा पर्न सक्ने सम्भावना अधिक रहन्छ । यस्तो अवस्थामा प्रेस र नागरिक समाजले निरन्तर खबरदारी गरिरहनु पर्दछ ।प्रेस स्वतन्त्रता नागरिक स्वतन्त्रताकै विस्तारित रूप हो । यसको अलग र निरपेक्ष अस्तित्व छैन । दुवै एक अर्काका परिपूरक पनि हुन् ।
यसर्थ प्रेस स्वतन्त्रतालाई नागरिक स्वतन्त्रताको अधिनस्त देख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्दछ । परिवर्तित सन्दर्भमा नागरिक हक र सूचनाको हकको प्रयोग र अभ्यास जति सहज देखिन्छ त्यति नै चुनौतिपूणर् पनि छ । सूचनाको हकको नाममा नागरिक स्वतन्त्रता खतरामा पर्ने केही नकारात्मक प्रवृत्तिहरू पनि देखा पर्दैछन् । पेशागत क्षेत्रका सङ्घ संस्थाहरूको आवाज केवल पेशागत स्वतन्त्रता र उन्मुक्तितर्फ बढी मुखरित भएर आजसम्म उपयोग गरिआएको अधिक स्वतन्त्रता र अराजकताको अभ्यासले निरन्तरता पाएर कानुनहरू केवल सर्वसाधारणको लागि मात्र हुन्छ स्थिरता र सम्मृद्धिको नाममा स्वतन्त्रतामा सङ्कुचन र पेशागत स्वतन्त्रता र उन्मुक्तिको नाममा अराजकता र स्वछन्दताको अभ्यासको निरन्तरताले आखिर लोकतन्त्र नै धरापमा पर्न सक्दछ । यस्ता खाले नकारात्मक प्रवृतिबाट जोगिँदै नागरिक हक र सूचनाको हकको सन्तुलित उपयोग र अभ्यास गर्नका लागि विद्यमान कानुन, संरचना र नीतिमा समेत ख्याल गर्नुपर्ने देखिन्छ ।
सूचना जसरी शक्तिको स्रोत हो त्यसरी नै सूचना अराजकता र अस्थिरताको माध्यम पनि हुन सक्छ । सूचना र स्वतन्त्रता दुवै नागरिक हकलाई विश्वसनीय, सम्मृद्ध र जफादेही बनाउने माध्यम हुन् । यिनको सन्तुलित अभ्यास र सन्तुलित सम्बन्ध आजको आवश्यकता हो । प्रेस स्वतन्त्रता नागरिक स्वतन्त्रताकै विस्तारित रूप हो । यसको अलग र निरपेक्ष अस्तित्व छैन । दुवै एक अर्काका परिपूरक पनि हुन् । यसर्थ प्रेस स्वतन्त्रतालाई नागरिक स्वतन्त्रताको अधिनस्त देख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्दछ ।
नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सन्तुलित सम्बन्धले नै लोकतन्त्र सुदृढ र उन्नत हुँदै जान्छ । सञ्चार माध्यमहरू स्वभाविक रूपमा आलोचनात्मक चेतनाको अभिवृद्धि गर्ने माध्यम हुन् । सरकारले प्रेसलाई भजन मण्डली बनाउन खोज्ने र प्रेसले सरकारलाई आलोचना मात्र गर्ने दुवै प्रवृत्तिलाई निरुत्साहित गरेर सरकार, नागरिक र प्रेसका बीचमा सन्तुलित तर आलोचनात्मक सम्बन्ध रहनु पर्दछ ।
प्रेसले लोकतन्त्रको पक्षमा वकालत गर्छ र अभिव्यक्ति स्वतन्त्रताको प्रयोगका साथै रक्षाका लागि भूमिका खेल्छ । प्रेस स्वतन्त्रताको अधिकार भनेको लोकतन्त्रको आधारभूत विषयवस्तु हो विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग संरक्षण र संवर्धनमा प्रेस जगतले रक्तसञ्चारको भूमिका निर्वाह गर्छ । अतः प्रेस स्वतन्त्रताविना अन्य कुनै पनि स्वतन्त्रता असम्भव छ ।
(नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष , समाजवादी प्रेस संगठन नेपालका सदस्य शिकारु मानव अधिकार प्रेस स्ववतन्त्रता जस्ता विषयहरुमा कलम चालाउनु हुन्छ । )