काठमाडौँ ,भदौ १९
सहरी विकास मन्त्री मेटमणि चौधरीले थारुहरुले अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्ने धारणा राख्नुभएको छ ।
बौद्धस्थित बरघर रेष्टुरेन्टमा शनिवार आयोजित एसइईमा उत्कृष्ट अंक ल्याउन सफल थारू विद्यार्थीहरूको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले भन्नुभयो , ‘हामीले जहिले दुःखका कुरा गयौँ । अभावका कुरा गयौँ । जाँड खाएर आफू बिग्रिएका कुरा गयौँ । के बाहुनले अभाव झेलेका छैनन् ? के क्षेत्रीले दुःख खेपेका छैनन् ? के जाँड अरुले खाँदैनन् र ? मुख्य कुरा कमिटमेन्ट हो । आँट हो । हिम्मत हो । तसर्थ अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्छ ।’
देश बदल्ने हरेक आन्दोलनमा झापा देखि कन्चनपुर सम्मकाथारुहरुले योगदान गरेका छन् तर पनि किन नेतृत्वमा आएनन् भनेर सोच्ने बेला भएको बताउँदै मन्त्री चौधरीले थप्नुभयो , ‘०४६ साल पछाडि राजनीति बदलिएको छ । थारु जाती अब भोट बैंक मात्र बन्ने होइन । प्रत्यक्ष राजनीतिमा सामेल हुने हो । राजनीतिमा आउन गाह्रो छ । सानो पदमा रहँदा सबैले माया गर्छन् तर अलि माथि पुगेपछि घेराबन्दी गर्न थाल्छन् । तर पनि देश बदल्ने शक्ति राजनीतिमै छ । देश बनाउने अभियानमा थारू जाती थप सक्रिय हुनैपर्छ ।’
०६२/६३ मा मुलुक विखण्डन गर्ने अभियानका विरुद्ध थारू समुदायले प्रतिरोध गरेको बताउनु भएका मन्त्री चौधरीले अबको १० वर्षभित्र मुलुकले थारू समुदायबाटै प्रधानमन्त्री पाउने दावी समेत गर्नुभयो । हिम्मत र सङ्घर्षबाटअब्रहाम लिङ्कन, अरुणिमा सिंह, झमककुमारी प्रसिद्ध बनेको बताउँदै उहाँले बहिष्कृतमान्छेहरू नै अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
थारू विद्यार्थी समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीको सभापतित्वमासञ्चालित उक्त कार्यक्रममा थारु आयोगकी सदस्य शान्ति मोदी, सुरुंगा नगरपालिकाकी मेयर गीता चौधरी, नेपाल आदिवासी विद्यार्थी महासङ्घका बरिष्ठ उपाध्यक्ष दिनेश लोप्चन तामाङ, थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यकाका सभापति सुमन चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा एसइईमा विशिष्ट श्रेणी ल्याउने थारू समुदायका करिब दुई दर्जन विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सहजिकरण थारू विद्यार्थी समाजका सचिव रोशन रत्गैँयाले गर्नुभएको थियो ।