काठमाडौं भदौ १९
नेकपा (एकीकृत समाजवादी )का प्रभावशाली नेता तथा स्थायी समिति सदस्य भविसोर पराजुलीले जनताको पक्षमा राम्रो काम गर्नेलाई प्रोत्साहन मात्र होइन सहयोग र समर्थन गर्नुपर्ने बताउनु भएको छ ।
शनिबार पत्रकार भेटघाटमा उहाँले उक्त कुरा बताउनु भएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेनको अहिलेको अभियान सही भएकोले आफूले बालेनलाई खुलेरै समर्थन गरेको बताउँदै नेता पराजुलीले भन्नुभयो , देश र जनताको पक्षमा राम्रो काम जस्ले गरे पनि त्यसलाई प्रोत्साहन मात्र होइन सहयोग र समर्थन गर्नुपर्दछ ।
‘कमिसन लिएर मापदण्ड विपरित संरचना बनाउन दिने एमाले पार्टी र तिनका हनुमानहरूलाईबालेनको डोजर अभियानले चर्को रुवाबासी गराएको छ । महेश बस्नेतलाई दुहुनो गाई मरे जस्तै भएको छ । त्यसैले पनि उनको रोइलो निकै टिठ लाग्दो देखिएको छ ।’ नेता भविसोरलेभन्नु भयोे ‘महेश बस्नेतले जति रोइलो गरे पनि अब मापदण्ड विपरित बनेका संरचना हटाइ छाड्नुपर्छ । उनले रोइलो छिटो बन्द गरुन्, होइन भने हेक्का रहोस्, उनलाई काठमाडौँवासीले कालोमोसो दलेर गल्लीगल्ली घुमाउनेछन् ।’
नेता पराजुलीले भन्नुभयो यस्तो समस्या काठमाडौं मात्र होइन एमालेले विगतमा जहाँजहाँ स्थानीय निकायको नेतृत्व गरेको थियो त्यहाँत्यहाँ त्यस्तै समस्या देखिएका छन् । त्यसैले काठमाडौंबाट बालेनले सुरु गरेपनि यो अभियान देशका सबै पालिकाले सुरु गर्नुपर्ने उहाँको भनाई छ ।
पराजुलीले पत्रकारसँग कुरा गर्ने क्रममा भन्नुभयो , ‘अब चुनाव आउँदैछ, दलाल र भ्रष्टहरुले पैसा खर्च गरेर टिकट लिने र पैसाकै बलमा चुनाव जित्ने अनि देश र जनताको पक्षमा काम गर्नुभन्दा आफ्नो लगानी उठाउन भ्रष्टाचार र कमिसनमा तल्लीन हुने स्थिति छ । यो देश र जनतामाथि हुने जघन्य अपराध हो ।’ यसप्रति सजग र सचेत भई पैसा खर्च गरेर चुनाव जित्छु भनेर लाग्नेहरुलाई पनि आगामी चुनावमा डोजर लगाएर सफा गर्नुपर्ने उहाँले बताउनु भयो ।