सरोजदिलु
गैरसरकारी संस्थाहरूका प्रशिक्षण तथा जातीय जन सङ्गठनहरूका राजनीतिक भाषणहरूमा ‘बाहुनवाद’ र ‘ब्राह्मणवाद’ शब्द प्रशस्त रुपमा प्रयोग हुनेगर्दछ । सामाजिक सञ्जालहरूमा समेत यी शब्दहरू प्रयोगमा आइरहेका छन् ।
दुवै शब्दलाई विशेषगरी भारतका विद्वानहरूले प्रयोगमा ल्याएका हुन् । नेपालमा भने ०६२ / ६३ को जनआन्दोलनपछि समावेशीकरणका मुद्दा सँगै यी शब्दहरू प्रयोगमा आई ठूलै बजार तताएको छ । ठुलै विद्वानहरूले समेत अर्थको सार नबुझिकनै यी शब्दहरू प्रयोग गरिरहेका पाउँछौँ । जातीय मुद्दामा राजनीति गर्ने नेताहरू तथा विशेषगरी दलित, जनजाति तथा मधेसी तथा सामाजिक अभियन्ताबाट सामाजिक सञ्जालहरूमा यी शब्द प्रयोग हुँदा बाहुन भनिने जातिहरूको मन मस्तिष्कलाई घोच्ने गरेको छ भने कतिपय अवस्थामा जातीय हिंसालाई निम्त्याएको आरोपसमेत लाग्नेगरेको छ । केही वर्षअगाडि भने विदेशी परियोजना चलाउने र राजनीतिक जनमत प्राप्त गर्ने ध्येयमा स्वयं बाहुन भनिएका जातिहरूले समेत यी शब्दलाई गर्वका साथ प्रयोग गर्दै आएका थिए ।
तर अहिले परियोजना नचलेको र चुनावपछि नेताहरूलाई जनमत आवश्यकता नचाहिएको अवस्थामा यी शब्द प्रयोग गर्दा तिनीहरु जातीय विचलन निम्त्याउन खोजेको अथवा समाजमा भड्काउ ल्याउने दुश्प्रयास हो भनी प्रतिवादमा उत्रिएको देखिन्छ । पछिल्लो समयमा सरकार पक्षधर नेता - कार्यकर्ताहरू समेत समावेशीकरण मुद्दाले सिधै हामी बाहुनहरूलाई माइनस गर्नखोजेको भन्दै डराइरहेको अवस्थामा उनीहरूका लागि ‘बाहुनवाद’ भन्ने शब्दले थप आहत पुर्याएको देखिन्छ । जसलेगर्दा गणतन्त्रले स्थापित गरेको आरक्षण, समावेशीकरण संवैधानिक प्रावधान तथा नीतिहरू समेत कार्यन्वयनमा जानसकेको छैन । विगतका २ वटा संविधानसभाका चर्को बहसमा आएको दलितलाई क्षतिपूर्तिसहितको अतिरिक्त अधिकारको मुद्दा अहिले ओझेलमा परेको छ । ओझेलमा परेको मात्र होइन समावेशीकरणको प्रावधान नै कटौती हुँदै गएको छ ।
‘बाहुनवाद’ र ‘ब्राह्मणवाद’ एउटै रुपमा प्रयोग भएता पनि शाब्दिक अर्थ भने धेरै फरक छ । जबकी बाहुन कुनै जाति नै होइन । खास जात भनेको ब्राम्हण नै हो । ब्रह्म भनेको ज्ञान र यण भनेको गुण हो । ब्रम्हा र यणको सम्मिश्रणबाट ब्राम्हण बनेको हो । अर्थात ज्ञानलाई हेर्ने र चिन्ने चारित्रिक दृष्टिकोण हो- ‘ब्राह्मण’ । जुन दृष्टिकोण कुनै खास जातिमा मात्र नभएर सबै जातजातिमा हुनसक्छ । त्यसैले वेदमा मानिस जन्मदैमा शुद्र भएर जन्मिन्छ तर उसमा निहित ज्ञान र दृष्टिकोणले मानिस ब्राम्हण बन्दछ भनिएको हो ।
यसर्थ ज्ञानलाई बोध गराउने गुण ब्राह्मणवाद हो । वाहुन भनेको जात नभई उपमा हो । मुखिया, जिम्दार, जिम्माल अथवा सार्की जातिभित्र मिजार, थारुभित्र अध्कारी भनेजस्तै एउटा उपल्लो उपमा मात्रै हो । अर्कोतर्फ हिन्दूधर्मभित्र भान्जालाई धेरै मानमनितो गर्नुपर्ने हुनाले भान्जालाई वाहुन भनेर उपमा दिएको भन्ने भनाई छ । त्यसैगरी समाजका अगुवा, टाठाबाठा र मानमनितो गर्नुपर्नेलाई बाहुन उपमा दिइएको थियो । तर बाहुनले पाएको त्यो मान समाज–प्रतिकुल हुनपुग्दा अहिले आएर नकारात्मक अर्थ लाग्नपुगेको छ ।
बाहुनबाट बनेको शब्द ‘बाहुनवाद’ आशक्तिको चिन्तन र त्यसको चरित्रवोधक शब्द हो । म मात्रै उच्चकोटीको हुँ भन्ने मपाईत्व चरित्र र जसैगरी पनि मैले मात्र पाउनु पर्छ भन्ने चिन्तनको बोधक शब्द बन्न पुग्यो । त्यसैले अरुलाई भ्रममा फसाएर, कठिन श्रममा लदाएर, शोषण गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृति हो- बाहुनवाद । समग्रमा भन्दा सामन्तवाद दर्शाउने अर्को रुप हो- बाहुनवाद । फरक यति हो- यस्तो चरित्रलाई नेपाल र भारतमा केही ब्राम्हणहरुले नेतृत्व गरिरहेका छन् । त्यस्ता चारित्रिक पात्रहरुले अरु जातिहरुलाई धार्मिक र आर्थिकरुपले कमजोर बनाएर आफूमात्रै शक्तिमा आसिन छन् । तसर्थ ज्ञानबोधक र ‘ब्राह्मणवाद’ र मपाईंत्वबोधक ‘बाहुनवाद’ एकआर्कामा धेरै फरक कुरा हुन् ।
अर्को अर्थमा हेर्दा ऐतिहासिक शास्त्रहरुमा बाहुनमा भन्ने जात नै पाईदैन । विशेषगरी जजमानी गर्ने पुरैतहरुले पुजा विधिमा एउटा बाहुन थाप्ने र त्यसमा भेटी, चामल, धन दान गरी पुजा गरेमा त्यो बाहुनले दानप्रसादहरु सिधै देवतालाई दिने र देवताहरुले पुजाकर्ताहरुलाई पापबाट मोक्ष गराउने विश्वास छ । अनि त्यसरी प्रतिष्थापन गरिएको बाहुन मानव जातिभन्दा उच्च र देवताहरुको दूत भएको, त्यसकारणले सवैले बाहुनलाई पुजा गर्नु वा मान्नु पर्दछ भन्ने मान्यता बसेको पाईन्छ ।
केही पुरैत्याईँ गर्नेहरुले यही लोभी रीतका आधारमा ‘ए हामी त सवैभन्दा उच्च जाति, देवताहरुका खास सन्तान, समाजले पुज्नैपर्ने’ भनेर ‘बाहुन’ भन्ने उपनाम थपेर आफूलाई उच्चकोटीको देखाउन खोजेका थिए, जुन उपमा अहिलेको लोकतान्त्रिक र समावेशी समाजमा ब्राह््मणकै लागि अभिशाप बन्न पुगेको हो । तसर्थ यो बाहुन ब्राम्हणभित्रका केहीले स्वघोषणा गरेको उपमा मात्र हो । यो उपमालाई जातभन्दा ब्यक्तिको चरित्रसंग जोेडेर मात्रै प्रयोग गर्दा उचित होला, जुन चरित्र खास जातमा मात्र नभएर थोरवहुत सबै जातमा पाइन्छ ।
हिन्दुधर्मका पुराना पण्डितहरुले श्रृष्टिकर्ता ब्रह्माको मुखबाट निस्केका पवित्र जात हुन् भनि भ्रम छर्दा आज हिन्दू समाजमा सोही छाप बसेको छ । अन्ततः केही ब्राह्मणहरुमा आज पनि आफूहरु अरु जातिभन्दा पवित्र र उच्च जाति भएको मपाईत्व छ । यही मपाईंत्वकै बलवुतामा एउटै जातिले मात्र एकछत्र अवसर प्राप्त गरिरहेका छन् । राजनीतिक नेता र समाजशास्त्री मानवशास्त्रीहरुले समेत विशेष जातिको मपाईंत्वलाई सही विश्लेषण नगरिदिंदा बाहुनवाद शब्द सुन्नासाथ साझा हित चाहने ब्राम्हणहरुसमेत तर्सिरहेका हुन् ।
यसर्थ मपाईंंत्व चरित्र र चिन्तनका ब्राम्हणहरुलाई मात्र अलग्याएर वाहुनवादलाई बुझ्नु उपयुक्त हुन्छ । बाहुनहरु ब्रह््माको मुखबाटै निस्किएका हुन् भन्ने भ्रमलाई ब्राह्मण समुदायबाट अलग्याएर बुझ्नु र बुझाउन आवश्यक छ । नत्र समाजमा कायम रहेको जातीय भाइचारा, निर्माण हुँदैगएको जातीय र सांस्कृतिक अन्तर्घुलन र सामाजिक सहिष्णुता भत्कने खतरा रहिरहन्छ । र, त्यसले अव बन्ने समावेशीकरण कार्यान्वयनको नीतिमा समेत असर पुर्याउन सक्दछ ।
हाम्रो समाजमा थुप्रै ब्राह्मणहरु छन्, जो सर्वहित लागि काम गर्दछन्, सवैको भलो चाहन्छन्, समाज र देशका लागि जीवन र धन दुवै त्याग गरेका छन्, वैश्य र शुद्र भनिने जातजाति सरह नै श्रममा खटिएका छन् । तिनीहरुलाई ब्राह्मण भएकै आधारमा बाहुनवादसंग दाँज्न मिल्दैन । मुक्तिनाथ अधिकारी, भीमदत्त पन्त, पं.छविलाल पोखरेल, स्व.नारायण पोखरेल, मनमोहन अधिकारी, मोदनाथ प्रश्रीतलगायत समाजमा आज पनि यस्ता ब्यक्तिहरु छन्, जो आफूले सक्नेजति जनहितका कार्यहरु गर्दैआए ।
जसले छुवाछूत, विभेद र लोभलालच, अहमताबाट अलग रही समानतामा आधारित समाजका पक्षमा धेरै योगदान दिएका छन् । र, आजपनि स्वार्थका लागि समाजलाई तोड्नेभन्दा सवै जातजातिलाई जोडि बन्धुत्व निर्माण गर्ने कार्यहरु गर्दैछन्, जसमा उच्चजाति हुँ भन्ने मपाईत्व छैन, त्यस्ता ब्यक्ति र समुहलाई वाहुनवादीबाट अलग्याएर हेर्नुपर्दछ ।
हाम्रो समाजमा कुनै एकल जातको वर्शच्व छैन । अन्य देशभन्दा विशिष्ठ किसिमको जात र वर्णबाट निर्मित नेपाली समाजमा आजभोली ब्राह्मणदेखि डोम, मुसहरसम्मका जातजातिवीचमा दाजुभाई दिदी–वहिनी, साथीसंगी, मामा, फुपू, काका–काकी तथा ज्वाईंचेला र सम्धी-सम्धिनीसम्मको मुर्त-अमुर्त नाता–सम्वन्ध कायम हुनथालेको छ । यिनै तत्वहरु समाज र हाम्रो संस्कृतिलाई बलियो बनाइराख्ने शक्ति हुन् ।
बाहुनवाद भनेर एउटा जात विशेषलाई मात्र आरोप लगाइरहँदा ती सम्वन्धहरुमा चिसोपना आउनसक्छ । अर्कोतिर इतिहासमा कुनै बाहुनवादी पात्रका कारणले गर्दा बाँकी जातिहरु शोषणमा परे, तिनीहरुको मपाईंत्व र भ्रमका कारण दलित वा अन्य जातजातिहरु पिछडिए भन्दैमा कुनै ब्राह्मणका रक्तसन्तान वा सिङ्गो वंश नै अपराधी हुन् भनेर घोषणा गर्नु पनि न्यायसंगत होईन । त्यसअर्थमा वर्तमानमा देखिएका असमावेशी चिन्तन र चरित्रलाई मात्र अलग्याएर मात्र हेर्नुपर्ने हुन्छ ।
चिन्तन र चरित्रका आधारमा जातबाट वाद अलग्याउँदा मानिस–मानिसको वीचमा खराव मानिस पनि हुन्छ भनेझैें अर्थ लाग्ने हुनाले यस्तो वादलाई स्वयं ब्राह्मण वा आफूलाई बाहुन नै भन्नेहरुले समेत स्वीकार्न सक्दछन् । साथै, जो ब्राह्मणहरु आफूलाई बाहुनवादी चिन्तन र चरित्रबाट अलग्याउन चाहन्छन् भने तिनले अति तिर्खाएको बेला दलितका हातबाट पानी खाने, भोकाएको बेला दलितको घरमा पसि खाने वा भोटका लागि म त दलितको जुठोपीरो खाएर हुर्केको भनि नाटक रच्दैनन् । दलित, जनजाति वा मधेसीलाई सानोतिनो अवसर दिएर आआफ्नो दुनो सोझ्याउने गर्दैनन् ।
बरु पछाडि पारिएका यी जातजातिको योग्यता र अस्तित्वलाई ब्यवहारतः स्वीकार्न गर्दछन्, तिनीहरुलाई दिनुपर्ने अवसरका लागि त्याग गर्न तयार हुन्छन् र सांस्कृतिक अन्तर्घुलन गराउन अग्रसर भइरहन्छन् । यसो गर्नेहरु चैं पक्का ब्राम्हणवादी हुन् नत्र कुरैकुरा गरेर उही शोषण गर्ने र अवसर हडप्ने, घरभित्र छिर्नासाथ विभेदलाई निरन्तरता दिने, दलित उत्पीडितलाई योग्य नदेख्ने, दयाका रुपमा हेर्ने, आफूमाथी पर्नासाथ हेयभाव दोहोर्याउनेहरु अझ पनि बाहुनवादी नै हुन् ।