इटहरी, भदौ १८
नेकपा ( एकीकृतसमाजवादी )सँगआवद्द नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठनकी नेतृ संगीता कार्की प्रतिनिधिसभाको समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस भएपछि श्रमिकहरूले आफ्नो आवाज ओकल्न भन्दै शुभकामना व्यक्त गरेका छन् ।
शुक्रबार इटहरीमा अन्तरकृया तथा सम्मान कार्यक्रमको आयोजना गर्दै नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठनले कार्कीलाई सम्मान गरेको हो । लामो समयदेखि इटहरीको साप्ताहिक हटियालाई केन्द्र बनाएर सडक व्यापार गर्दै आएकी कार्की विगत एक वर्षदेखि एकीकृत ट्रड युनियन महासङ्घको नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठनकी केन्द्रीय सदस्य हुन् ।
निडर र अन्यायको विरुद्ध आवाज ओकल्ने खरो स्वभावकी नेतृ संगीताले भोलि समानुपातिकबाट संसद्मा पुग्न सकेको खण्डमा सम्पूर्ण मजदुर वर्गको प्रतिनिधित्व गर्ने भएकाले सम्पूर्ण मजदुर वर्ग एक भएर लाग्नुपर्ने कार्यक्रममा उपस्थित मजदुर नेताहरूको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठनका केन्द्रीय उपमहासचिव प्रदीप तामाङले संगीता एक सच्चा र इमानदार मजदुरको नेतृत्व गर्न सक्ने नेतृ भएकाले सम्पूर्ण मजदुर वर्गले उनलाई आफूहरूको आवाज सुनिदिने ठाउँसम्म पुर्याउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा कृषि मजदुर संगठन, स्वतन्त्र सिटी सफारी संगठन, स्वतन्त्र सडक मजदुर संगठन लगायतका प्रतिनिधिहरूले कार्कीलाई सम्मान गर्दै आफूहरूको समर्थन रहेको बताएका थिए ।
नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठनका संघीय उपाध्यक्ष कृष्णप्रसाद वस्तीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै संगीता कार्कीले आफूले पहिलेदेखि नै अन्यायको विरुद्ध आवाज ओकलेको बताउँदै सडक व्यापारीहरूको समस्याको समाधान तथा यातायात मजदुरको समस्याको समाधानमा लागिरहने बताउनु भयो ।
समय समयमा सडक व्यापारीको पक्षमा बोल्दा आफूलाई पैसामा बिक्ने अवसर आएको भएता पनि आफूले त्यसलाई इन्कार गरेको र व्यवसायीको पक्षमा रहिरहेको बताउनु भएको थियो । आफूलाई आज सङ्गठनकासाथीहरूले खादा ओढाएको नभई जिम्मेवारीको भारी बोकाएको बोध भएको उहाँले बताउनु भयो ।