काठमाडौं भदौ १७
अहिले देशव्यापी रुपमा वाम एकता र वाम एकतापछिको मुख्य नेता को बन्ला भन्ने चर्चा चुलिएको छ । यसै सेरोफेरोमा रहेर नेकपा (एकीकृत समाजवादी ) का प्रभावशाली नेता तथा स्थायी समिति सदस्य भविसोर पराजुलीसँग ‘कलम न्युज’ का लागि कृष्ण चापागाँईले लिएको अन्तर्वार्ताको सानो अंश प्रस्तुत गरिएको छ ।
भबिसोर जी , अब नेपालको कम्युनिष्ट आन्दोलनको मुख्य नेता को हो ?
नेपालको कम्युनिष्ट आन्दोलनको अबको मुख्य नेता माधवकुमार नेपाल नै हो । किनभने ओली दक्षिणपन्थी र भ्रष्ट साबित भइसके । प्रचण्डले त्यसलाई पछ्याउँदै छन् भने माधवकुमार नेपालले ओली र प्रचण्डमा देखा परेको यसप्रकारको प्रवृत्तिलाई परास्त गर्दै कम्युनिष्ट आन्दोलनलाई सही क्रान्तिकारी दिशामा अगाडि बढाईरहनु भएको छ । । त्यसकारण अबको कम्युनिष्ट आन्दोलनको मुख्य र सर्वोच्च नेता माधवकुमार नेपाल नै हो ।
अहिले तपाईँको पार्टी अध्यक्ष माधवकुमार नेपाल भएको हुनाले त्यसो भन्नुभएको होला नि ?
माधवकुमार नेपाल मेरो पार्टीको अध्यक्ष भएको हुनाले भनेको बिल्कुल होइन । एउटा कम्युनिष्ट पार्टीको नेता आफ्नो विचार र दृष्टिकोण राख्ने विषयमा स्वतन्त्र हैसियत राख्छ । मैले त्यही हैसियतबाट स्वतन्त्र र इमानदार भएर बोल्दा अबको कम्युनिष्ट आन्दोलनको नेता माधवकुमार नेपाल नै हो । वास्तविकता पनि यही नै हो ?
त्यसो भए, अबको वाम एकता पछिको नेता माधव नेपाल नै हुनुहुन्छ ?
निर्विकल्प हो । किन कि माओवादीले न एमालेलाई स्विकार्छ, न एमालेले माओवादी स्विकार्छ । अझ भन्नुहुन्छ भने अन्य कम्युनिष्ट पार्टीहरूले माओवादी र एमालेलाई स्विकार्ने स्थिति नै छैन । त्यसैले एमाले, माओवादी र अन्य कम्युनिष्ट पार्टी आउने र आउन मिल्ने पार्टी भनेको नेकपा ( एकीकृत समाजवादी ) हो र सबैले स्विकार्ने नेता भनेको माधवकुमार नेपाल नै हुनुहुन्छ । त्यसकारण अब हामी सबैको सर्वस्वीकार्य र सर्वमान्य नेता माधव नेपाल नै हो ।
उता ओली र प्रचण्डले आफूलाई राजनेताको रुपमा प्रस्तुत गरेका छन् नि त ?
राजनेता प्रस्तुत गरेर मात्र हुन्छ ? त्यसको लागि सही विचार, दृष्टिकोण र व्यवहार चाहिदैन ? ओलीमा देखिएको दक्षिणपन्थी र भ्रष्ट विचारले राजनेता बन्न सक्छन् ? प्रचण्डमा देखिएको दक्षिणपन्थी अवसरवादी सोचले राजनेता होलान् ? किमार्थ सम्भव छैन । ओली र प्रचण्डले राजनेता बन्ने बाटो बिराई सकेका छन् । त्यसकारण ओली र प्रचण्डले आफूलाई राजनेताको रुपमा प्रस्तुत गर्ने कुरा काशी जाने कुतीको बाटो जस्तै हो ।
त्यसो भए माधवकुमार नेपाललाई राजनेता हुने बाटो खुलेको हो त ?
निश्चित रुपमा हो । अहिले वास्तवमै माधवकुमार नेपालको काँधमा सबै कम्युनिष्ट र देशभक्तलाई एकतावद्ध गरी कम्युनिष्ट आन्दोलनलाई सही दिशामा लैजाने राजनेताको ऐतिहासिक जिम्मेवारी आएको छ ।
सबै कम्युनिष्टहरू एकतावद्ध हुन्छन् त ?
कम्युनिष्ट र देशभक्तहरू एकताबद्ध हुने यो भन्दा अर्को अवसर इतिहासमा कहिल्यै जुरेको थिएन र अब यो स्थिति छिट्टै नआउन सक्छ । त्यसैले माधव कुमार नेपालको नेतृत्वमा त्यसको पहल कदमी लिन अब ढिलो गर्नु हुँदैन भन्ने लाग्छ ।