नेकपा ( एकीकृत समाजवादी ) काभ्रे अध्यक्ष तथा बाग्मती प्रदेशका कृषि तथा सहकारी मन्त्री बसुन्धरा हुमागाईं काभ्रेको राजनीतिमा एक होनाहार व्यक्तित्व हुनुहुन्छ उहाँ नेकपा एमालेको तर्फबाट २०७४ सालको निर्वाचनमा प्रदेश सभा सांसदमा निर्वाचित हुनुभएको थियो । केपी ओलीको निरङ्कुशताविरुद्ध पार्टीमा विद्रोह गरेपछि उहाँ माधव नेपालको नेतृत्वमा गठित नेकपा ( एकीकृत समाजवादी ) मा हुनुहुन्छ । हुमागाईँसँग काभ्रे जिल्ला कमिटीको अध्यक्ष भए पछि उहाँसँग दिनेश खरेल ले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
- नेकपा ( एकीकृत समाजवादी ) काभ्रेमा नयाँ जिल्ला कमिटीको औचित्य के हो ?
काभ्रेका निवर्तमान अध्यक्ष टोक बहादुरवाइवा पार्टीमा विद्रोह हुनुभन्दा अघि नै एमालेको महाधिवेशनबाट अध्यक्ष हुनुभएको हो ,पछि एकीकृत समाजवादी पार्टी गठन भए पश्चात पनि उहाँकै नेतृत्वमा पार्टीले निरन्तरता पाएको थियो। उहाँ निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ र पार्टीका अन्य जिम्मेवारीमा पनि रहनुभएको छ। विभिन्न गतिविधिमा सक्रिय हुनुपर्ने भएकाले उहाँको व्यस्तता रहेको छ। पार्टी स्थापना दिवसको अवसरमा हामीले नयाँ नेतृत्व चयन गरेका हौ। नयाँ जिल्ला कमिटीमा उपाध्यक्षलाई अध्यक्ष सचिवलाई उपाध्यक्ष निरन्तरता दिइएको हौ । सचिव र उपसचिव चयन भइसक्नु भएको छ बाँकी पदाधिकारीहरू पछि पूर्णता दिइने छ।
- नयाँ चयन भएको जिल्लाको कमिटीको आगामी कार्यनीति के हो ?
हाम्रो पाटी निर्माण भएको एक वर्ष मात्र भएको छ । हामीले काभ्रेमा पार्टी निर्माणको कामलाई तीव्रता दिएका छौ । स्थानीय तहको निर्वाचन परिणामबाट पनि सन्तोषजनक स्थिति रहेको देखिन्छ। आगामी दिनमा हामी भ्रातृसँगठनहरू पुनःनिर्माणको कार्य अगाडि बढाउने छौ ।
हाम्रो नेतृत्वले पार्टीलाई चलायमान बनाउने छ, पार्टी गतिविधिहरू बढ्नेछन्। जिल्ला , गाउँ ,नगर ,वडा र टोल कमिटीको गठन प्रक्रियाले पूर्णता पाउने छ । कार्यकर्तालाई उत्साहित बनाउँदै नयाँ कार्यनीति बनाउने छौं । मंसिर ४ को निर्वाचन हाम्रो मुख्य प्राथमिकतामा रहने छ । आगामी दिनमा काभ्रेमा समाजवादीको लालकिल्ला बनाउने प्रतिज्ञा गर्दछु।
- आसन्न मंसिर ४ को निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैनर जिल्लामा एमालेसँग तालमेलको सम्भावना के छ ?
मङ्सिरको निर्वाचनमा गठबन्धन हुन्छ। गठबन्धन केन्द्रकै निर्णय हो , यसलाई हामीले तलमाथि गर्न मिल्दैन । हामी केन्द्रीय निर्देशनको अनुसरण गरेर जान्छौ । गठबन्धनबाटै चुनाव लड्ने हो। एमालेसँग हाम्रो तालमेलको सम्भावना छैन , उसले त हामीलाई ढोका बन्दै गरेको अवस्था हो । हामीलाई एमालेले वर्गशत्रु ठान्दछ । विचार नै नमिलेपछि कसरी तालमेल हुनसक्छ र ?
- गठबन्धनको लक्ष्य , विगतमा गठबन्धनबाट प्राप्त परीणाम र अनुभव पनि बताइदिनुस् न ?
गठबन्धनको लक्ष्य भनेको संविधान ,लोकतन्त्र र संघीयताको रक्षा हो। ओलीको प्रतिगमनका विरुद्ध उभिएको दरिलो खम्बा गठबंधन नै हो। गठबन्धन नभएको भए जनताले प्राप्त गरेको प्रत्यक्ष जनप्रतिनिधि छान्ने अवसर गुमिसकेको हुनेथियो यो कुरामा सारा जगत लाई अवगत नै छ ।
गठबन्धनबाट के प्राप्त भयो भन्ने प्रश्न छ जेजस्ता अबसर र उपलब्धि प्राप्त भयो एकीकृत समाजवादीका लागि त्यो स्वीकार्य छ किनभने हामी संक्रमणकालीन अवस्थाबाट आएका हौ , हाम्रो शक्ति क्षीण भएको अवस्था थियो। स्थानीय तहको निर्वाचनबाट हामीले दरीने मौका पाएका छौं,कहीँ कतै गुमायौं होला यसको मूल्यांकन र समीक्षा समयसँग हुँदैजान्छ।
- विपक्षी नेकपा एमाले र उसका मुद्दालाई कसरी आंकलन गर्नुभएको छ ?
म सञ्चारमाध्यममा तथा सामाजिक सञ्जालमा कसले के भने के गरे भन्नेतिर जान्न किनभने मुख्य कुरा आज हामीले प्राप्त गरेको उपलब्धि सम्पूर्ण देशवासी लगायत बिदेशमा बस्ने नेपालीहरु सबैलाई थाहा छ ।
विशेषतः हाम्रो उदेश्य संविधान, लोकतन्त्र , संघीयता र धर्मनिरपेक्षता हो, हाम्रो समाजमा यि मुद्दालाई तल सम्म समीक्षाको विषय बनाएर विकास निर्माणका कार्यमा सहभागी हुनु जरुरी छ । त्यसले मात्र हामीलाई समाजवादको यात्रामा हिडन सहयोग गर्ने छ।
- गठबन्धनबाट निर्वाचन लड्दा तपाईंहरूको मुद्दा के के रहन्छन् रु र गठबन्धनले ती मुद्दा सम्बोधन गर्लान् त ? गर्छन भन्ने केहि ग्यारेन्टि छ ?
चुनाबी मुद्दाहरु समग्र चर्चामा आईरहने विषय नै हुन्छन् । जस्तै शिक्षा, स्वास्थ्य ,रोजगार ,कृषि, उद्योग यिनै विषयलाई प्रधान बनाएर हामी निर्वाचनमा जान्छौ । कसरी जनताको आय आर्जनका स्रोत बढाउने, रोजगारी सिर्जना हुने ,आधुनिक र व्यवसायिक बनाउने भन्ने विषय नै महत्वपूर्ण रहन्छ ।
लगभग गठबन्धन पार्टीहरु र हाम्रो पार्टीको एजेण्डा उस्तै हुन् । निर्वाचनमा जाँदा एउटै मुद्दा लिएर जाने हो । गठबन्धनले र हामीले गर्ने चुनाबी प्रतिबद्धता पनि एउटै हुन्छन् । यो त सबै मिलेर पूरा गर्ने हो, मुद्दाहरु पूरा नहुने अवस्थामा हामी तदारुकताका साथ कार्यान्वयन गर्न र गराउन लागिपर्ने छौं।
- काभ्रेमा नेकपा कुन कुन पदमा दाबी रहला र सहमतिको सम्भावना कस्तो देखिन्छ ?
हामी हाम्रो जिल्लामा सम्मानजनक हक दाबी गर्छौं। काभ्रेमा हाम्रो संगठन राम्रो छ । गठबन्धनका साथीहरुसँग अन्य दलहरुलाई पनि मिलाएर लैजाँदा हामीले गठबन्धनमा सोचेजस्तो दाबी हात पर्ने सम्भावना प्रबल देखिन्छ। गठबन्धनबाट हामीलाई अन्याय हुने छैन,किनभने काभ्रेमा गठबन्धनलाई ढोका दिने चलखेल भएमा गठबन्धनका अरु साथीहरुले पनि जित्ने सम्भावना न्युन रहन्छ।
- तपाईंको निर्वाचनक्षेत्रमा चुनाव जित्ने आधार के छ ?
पहिलो त म पार्टीको जिल्ला अध्यक्ष छु । बागमती प्रदेशको सांसद तथा बहालवाला कृषि तथा सहकारीमन्त्री हु । म सांसद वा मन्त्री हुँदा सधै जनताको साथमा छु। विकासका योजनाहरु ल्याएको छु , जनताले मलाई काम गरेर देखाउने अब्बल नेता ठानेका छन् ।त्यही भएर आगामी निर्वाचनमा मलाई जनताले विश्वास गर्नेछन् ,म आशावादी छु।