काठमाडौं भदौ १६
नेकपा ( एकीकृतसमाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी संग्रहालयलाई हामीले एउटा ग्रयाण्ड संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ ।
बुधबार पार्टीको केन्द्रीय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु ’ विषयक गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताउनु भएको हो ।
नारायणहिटी संग्रहालयलाई इतिहासदेखि राजतन्त्रको समाप्ति सम्मको कालको मात्रै संग्रहालय बनाउनुपर्ने बताउनु भएको हो । उक्त संग्रहालयमा नेपालमा हालसम्म शासन गरेका विभिन्न वंशका राजाको पालाको अवस्था झल्किनेगरी छुट्टै बनाउनु पर्ने उहाँले बताउनु भयो ।
त्यसमा इतिहासको शुरुदेखि लिएर नेपालको आजसम्मको इतिहासको खासगरी राजतन्त्रको समाप्ति भएसम्मको कालको जम्मै चिजहरू त्यहाँ देख्न पाइयोस्’, उहाँले भन्नुभयो, ‘चाहे विभिन्न राजा, महाराजाहरूको वंशको शासन होस्। किराँत वंश, लिच्छवि वंश, महेशपाल वंश, सेन वंश सबै शासनकालका जम्मै झलकहरू देखिने गरी कसरी उनीहरूले शासन सञ्चालन गरे ? त्यतिबेलाको अवस्था कस्तो थियो ? त्यो हेर्नका लागि विदेशीहरूआउन् ।’
‘गणतन्त्रको म्युजियम छुट्टै बनाऔँ। जातीय संग्रहायल बनाऔँ। अब एउटा हिन्दु धर्मको पनि संग्रहालय खोल्नुपर्छ खुल्लासंग्रहालय भन्ने मलाई लागेको छ’, उहाँले भन्नुभयो , ‘खुला संग्रहायल कस्तो हुनुपर्दछ भने महादेव, देवीहरूको जति स्वरुपहरु ति सबै स्वरुपहरु राख्ने । के कारणले प्रसिद्ध, ऐतिहासिक छ ? यो भनेर नेपालीहरु र विदेशीहरुलाई पनि आकर्षित गर्न सकिन्छ। देवीदेवताको एउटै साझा थलोमा हामी जम्मैको प्रतिमूर्ति बनाउन सक्दछौँ । प्रतिमूर्ति बनाएर आकर्षणको थलो बनाउन सक्दछौँ ।’
अध्यक्ष नेपालले विकास निर्माणको काममा अदालतले अवरोध गर्ने गरेको बताए। कामलाई अदालतले रोकिदिने र सरकार निरिह हुने अवस्था रहेको उनले उल्लेख गरे। उनले अदालत विकास प्रेमी हुनुपर्ने बताउनु भयो ।