काठमाडौं ,भदौ १५
नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय प्रचार विभागको बैठक सम्पन्न भएको छ ।
बुधबार बसेको विभागको तेस्रो पूर्ण बैठकले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित प्रचार योजना बनाउनुको साथै प्रचार विभागका पदाधिकारी र सदस्यहरूको कार्य विभाजन गरिएको प्रचार विभाग सचिव प्रकाश खतिवडाले बताउनु भयो ।
बैठकले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुने गरी प्रचारप्रसारलाई तीव्र बनाउन विभाग र समाजवादी प्रेस सङ्गठन नेपालका विभिन्न पदाधिकारी एवं केन्द्रीय सदस्यलाई केन्द्र र भूगोलमा जिम्मेवारी दिने निर्णय गरेको विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिनुभयो। विभागले पार्टी घोषणापत्रमा सञ्चार विषयमा समेटिने बुँदाका लागि विभागका सदस्य र पत्रकारहरूसँग सुझाव पनि मागेको छ।
विभागले ‘कलम’ न्युज पोर्टल र पत्रिकालाई निरन्तरता दिने, जर्नलका रूपमा पार्टी मुखपत्र ‘समाजवाद’ निर्वाचनअघि नै प्रकाशन गर्ने, व्यापक रूपमा सामाजिक सञ्जाल र सञ्चारमाध्यम परिचालन गर्ने, नियमित रूपमा ‘मिट द प्रेस’ कार्यक्रम आयोजना गर्ने, पार्टी नेता र उम्मेदवारहरूलाई सामाजिक सञ्जालमा आबद्ध गराउनेलगायत सङ्गठन विस्तार, प्रचार सामग्री प्रकाशन तथा उत्पादन आदिबारे पनि निर्णय गरेको छ।
सो अवसरमा पार्टी उपमहासचिव खतिवडाले वर्तमान गठबन्धनबाट नै बढीभन्दा बढी सिट लिने प्रयास भइरहेको र नेकपा माओवादी केन्द्रसँग विभिन्न विषयमा निकटमा रहिरहेको जनाउँदै गठबन्धन असफल भएमा वाममोर्चा बनाउन सकिने सोचाइ पनि रहेको जानकारी गराउनु भयो ।
विभागका प्रमुख जगन्नाथ खतिवडाको अध्यक्षतामा उपप्रमुखहरु शम्भु श्रेष्ठ,दामोदर अर्याल सहित विभागका सदस्यहरुको सहभागिता थियो ।