लेखनाथ शिकारु
काठमाडौं भदौ ९
नेकपा ( एकीकृत समाजवादी ) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले वाम आन्दोलनलाई सुसंगठित र विस्तारित गर्नु आफूहरूको दायित्व भएको बताउनु भएको छ । नेपकपा ( एकीकृत समाजवादी ) को पुनर्गठन दिवसको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खतिवडाले छरिएर रहेका कम्युनिष्ट पार्टीलाई एकीकृत पुनर्गठित सुसंगठित र विस्तारित गर्नु अव आफूहरूको दायित्व भएको बताउनु भएको हो । उहाँले अस्थिरताबाट मुलुक जोगाउनु आफूहरूको ठूलो दायित्व भएको भन्दै एक वर्षको अवधिमा त्यो कार्यभार आफूहरूको पार्टीको प्रमुख अग्रसरतामा भएको बताउनु भयो ।
उहाँले एकीकृत समाजवादी केपी शर्मा ओलीको विसर्जनवाद ,राष्ट्रिय आत्मसमर्पणवाद ,सर्वसत्तावाद,प्रतिगमनर पार्टी कव्जा गर्ने फाँसीवादी शैलिका विरुद्धको विद्रोह भएको बताउनु भयो ।
नेता खतिवडाले नेकपा एकीकृत समाजवादीले पुनर्गठनको छोटो अवधिमै ऐतिहासिक सफलता हासिल गरेको समेत बताउनु भएको छ ।
उहाँले भन्नुभयो , ‘३६४ दिन पुगेको सन्दर्भमा मैले बोल्दै छु । हाम्रो पार्टीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक ल्याउन सफल भयो र देश र जनताको आवश्यकतामा गठबन्धन सरकार बन्यो । जसले प्राप्त उपलब्धिको रक्षा गर्न सफल भयो । यसलाई हामीले ठूलो सफलता र उपलब्धि ठानेका छौँ ।’ यो अवस्थामा पार्टीको चुनाव चिन्ह कलमलाई जनता समक्ष चिनाउन सफल भएको र स्थानीय तह निर्वाचनमा २७ प्रतिशत उम्मेद्वारी दिँदा ९ लाख २७ हजार वढी मत पाउनुले पनि जनताप्रति पार्टीको आकर्षण भएको बताउनु भयो । उहाँले नेपाली राजनीतिमा अझैपनि आशा र भरोसाको केन्द्र कम्युनिष्ट पार्टी नै भएको बताउनु भयो ।
प्रचार विभाग प्रमुख खतिवडाले अहिले आफ्नो पार्टीमा २ लाख भन्दा बढी व्यक्तिहरू विभिन्न कमिटीमा नै सङ्गठित भै सकेको भन्दै ५ लाख वढी सङ्गठित सदस्यहरूको रेकर्ड अद्यावधिक भै सकेको र सबै संख्या अद्यावधिक हुने क्रममा रहेको बताउनु भयो । यसले पनि पार्टी प्रति जनताको आकर्षण भएको उहाँको भनाई छ । मुलुक जोगाउनु नै एक वर्षको ठूलो उपलब्धिका रूपमा रहेको भन्दै नेता खतिवडाले विद्रोहलाई साथ दिन जनता तयार रहेको बताउँदै उनले लाखौँलाख सदस्य हुनु एउटा कम्युनिस्ट आन्दोलनका लागि ज्यादै ठूलो सफलता भएको बताउनु भयो ।
सांगठनिक अवस्था
प्रचार विभाग प्रमुख खतिवडाका अनुसार अहिले आफ्नो पार्टीमा २ लाख भन्दा बढी व्यक्तिहरू विभिन्न कमिटीमा नै सङ्गठित भै सकेको बताउनु भएको छ ।
जस्मा ५ लाख वढी सङ्गठित सदस्यहरूको रेकर्ड अद्यावधिक भै सकेको र सबै संख्या अद्यावधिक हुने क्रममा रहेको उहाँले बताउनु भयो । त्यस्तै पाँच हजारभन्दा बढी वडामा समेत कमिटीहरु छन् । केन्द्र, प्रदेश र स्थानीय तहसहित उपत्यका विशेष प्रदेश र गैरभौगोलिक जिल्ला कमिटी, सम्पर्क विशेष प्रदेश र प्रवासमा समेत संगठन विस्तार भएको अवस्था छ ।
पार्टीको अहिलेको अवस्थामा विभिन्न विभाग, जनवर्गीय संगठन, पेसागत संगठन र सामुदायिक संगठनसमेत गठन भई क्रियाशिल छन् भने केन्द्रीय संरचनामा एक हजार पाँच सय ३६ नेता छन् । केन्द्रीय कमिटी सदस्य ३ सय ६८, केन्द्रीय आयोगका सदस्य एक सय सात, केन्द्रीय सल्लाहकार परिषद् सदस्य एक सय ५७, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च ३८, केन्द्रीय परिषद् सदस्य एक सय १३ र केन्द्रीय विभागमा सात सय ५५ सदस्य छन् ।
यस्तै प्रदेश कमिटीमा एक हजार पाँच सय ६६ जना क्रियाशील छन् । प्रदेश १ मा दुई सय ४४, मधेसमा एक सय ६८, बागमतीमा दुई सय १७, गण्डकीमा एक सय ३९, लुम्बिनीमा एक सय ६५, कर्णालीमा एक सय ७०, सुदूरपश्चिममा एक सय ७३, उपत्यका विशेषमा ८२, सम्पर्कमा ६४, भारत प्रवासमा एक सय एक र अन्य प्रवासमा ४३ जना सङ्गठित छन् ।
उपमहासचिव डा. गंगालाल तुलाधरका अनुसार जिल्ला कमिटीमा १४ हजार ६ सय ३९, पालिका कमिटीमा २३ हजार ६ सय ७६ र वडा कमिटीमा ८१ हजार ९८ गरी स्थानीय कमिटीमा एक लाख १९ हजार चार सय १३ जना सङ्गठित भएका छन् । यसका साथै उपत्यका विशेष प्रदेश कमिटी र त्यसअन्तर्गत पाँचवटा जिल्ला कमिटी, १९ इलाका कमिटी र २९ शाखा कमिटी गठन भएका छन् । सम्पर्क विशेष प्रदेश कमिटी र त्यसअन्तर्गत सात प्रदेशमा प्रदेश सम्पर्क कमिटी तथा ६६ जिल्लामा जिल्ला सम्पर्क मञ्च गठन भएका छन् । भारत प्रवासका विभिन्न राज्यमा र भारतबाहेक अन्य प्रवासका २५ मुलुकमा प्रवासी नेपाली एकता मञ्च गठन भएका छन् ।
ती कमिटीमा पाँच हजार एक सय ८४ जना सङ्गठित छन् । यसका साथै जनवर्गीय संगठनहरू अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, एकीकृत ट्रेड युनियन महासंघ, युवा संघ नेपाल, अनेरास्ववियु, पेसागत महासंघ र त्यसअन्तर्गतका घटक १२ संगठन, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ र त्यसअन्तर्गतका घटक संगठन, खेलकुद महासंघ, जनसांस्कृतिक महासंघ, आदिवासी जनजाति महासंघ, समाजवादी प्रेस संगठन र नेपाल दलित मुक्ति संगठनका केन्द्रीय, प्रदेश र जिल्ला कमिटी गठन भएका छन् ।
सरकारमा प्रतिनिधित्व
अहिले नेकपा एकीकृत समाजवादीको तर्फबाट संघीय सरकारमा ४ मन्त्री र एक राज्यमन्त्री छन् । सरकारमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, श्रममन्त्री शेरबहादुर कुँवर, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी छन् । कानुनमन्त्री गोविन्द बन्दी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको प्रस्तावमा मन्त्री बन्नुभएको हो ।
यस्तै प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ६ प्रदेश सरकारमा एकीकृत समाजवादीको प्रतिनिधित्व छ । प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री हुनुहुन्छ । लुम्बिनीमा एकीकृत समाजवादीकी सांसद रमा घर्ती कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्छ ।
संसद्मा प्रतिनिधित्व
एकीकृत समाजवादीका प्रतिनिधिसभामा २३ सांसद छन् । राष्ट्रिय सभामा स्वतन्त्र एकसहित ९ सांसद र प्रदेश सभामा ५४ सांसद रहेको अवस्था छ । सुदूरपश्चिममा प्रदेश सभाकै ठूलो दल एकीकृत समाजवादी छ भने मधेस प्रदेशमा एमाले भन्दा समाजवादी ठूलो छ ।
समाजवादीका प्रदेश १ मा १०, मधेसमा १३, बागमतीमा १३, लुम्बिनीमा एक, कर्णालीमा ३ र सुदूरपश्चिममा १४ सांसद छन् ।
स्थानीय तहको उपस्थिति
स्थानीय निर्वाचनमा एकीकृत समाजवादीबाट महानगरपालिका प्रमुख एक, उपमहानगरपालिका प्रमुख एक, नगरपालिका प्रमुख १०, गाउँपालिका अध्यक्ष ८ , नगरपालिका उपप्रमुख ११, गाउँपालिका उपाध्यक्ष १२, वडाध्यक्ष एक सय ९०, महिला सदस्य एक सय ८४, दलित महिला सदस्य एक सय ८० र खुला सदस्य तीन सय ८९ गरी जम्मा नौ सय ८६ स्थानमा प्रतिनिधित्व रहेको पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा गंगालाल तुलाधरले बताउनु भयो ।
विजयी मध्ये महानगरपालिका प्रमुख एक, उपमहानगरपालिका प्रमुख एक, नगरपालिका प्रमुख पाँच, गाउँपालिका अध्यक्ष पाँच, नगरपालिका उपप्रमुख ६, गाउँपालिका उपाध्यक्ष ११ गठबन्धनबाट निर्वाचित हुनुभएको हो भने बाँकी एक्लै प्रतिस्पर्धा गरेर विजयी भएको अवस्था हो । वडाध्यक्ष र सदस्यहरू प्रायः एक्लै निर्वाचन लडेर जितेको तुलाधरले बताउनु भयो ।
जिल्ला समन्वय समितिमा प्रमुख पाँच, उपप्रमुखमा आठ र सदस्यमा २८ जना निर्वाचित भएको अवस्था छ भने अन्य कतिपय हाम्रा नेताहरु अन्य पार्टीवाट उम्मेद्वार वनेर निर्वाचित भएको अवस्था भएको उहाँले बताउनु भयो ।