गणेश विश्वकर्मा
सन्दर्भ
नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालको लागि सम्पन्न स्थानीय निर्वाचनमार्फत नेकपा ( एकीकृत समाजवादी) जनअनुमोदन भएको छ । यसका साथै तत्कालीन नेकपा ( एमाले ) मा उत्पन्न दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, व्यक्तिवादी अहंकारवाद, निरंकुश एवं स्वेच्छाचारी चरम गुटवन्दी ( केपि प्रवृति ) का विरुद्ध सुझबुझ पूर्ण विद्रोहको औचित्यसमेत यसै निर्वाचनमार्फत जनअनुमोदन भएको छ ।
यस निर्वाचनबाट पार्टीको एकातर्फ राजनीतिक हैसियत निर्धारण भएको छ भने अर्कोतर्फ भावी राजनीतिक यात्राको आधार निर्माण भएको छ । नेकपा ( एकीकृत समाजवादी ) ले केपि ओली नेतृत्वको गुटले सात पहिलो दशक लामो क्रान्तिको उपलब्धी माथिको खेलबाड गरेको, दोस्रो राष्ट्रियता र सार्वभौमिकता माथिको बर्वादी र तेस्रो नेपाली कम्युनिष्ट आन्दोलन माथिको विघटनको दुश्प्रयास बाट जोगाउन गरिएको विद्रोहलाई नेपालका राजनीतिक शक्तिहरूले नचाहँदा नचाहँदै स्वीकार गर्नुको विकल्प रहेन ।
नेकपा (एकीकृत समाजवादी) ले यस निर्वाचनमा महानगरपालिका प्रमुख १, उपमहानगरपालिका प्रमुख १, नगरपालिका प्रमुख १०, गाउँपालिका अध्यक्ष ८, नगरपालिका उपप्रमुख ११, गाउँपालिका उपाध्यक्ष १२, वडाध्यक्ष १९०, महिला सदस्य १८४, दलित महिला सदस्य १८० र खुला सदस्य ३८९ गरी जम्मा ९८६ स्थानसहित ९ लाख बढी मत सहितमा विजय प्राप्त गरेको छ । विद्रोहको १० महिनाभित्रै पार्टी देशव्यापी बन्न पुग्यो र राष्ट्रिय राजनीतिमा निर्णायक दलका रुपमा स्थापित हुनपुग्यो । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनका साथ महानगरदेखि पालिका सम्मको विजय यात्रा संविधान र लोकतन्त्रको विजय र सबैखाले प्रतिगमनको पराजयको रुपमा नेपाली राजनीतिले हरेको छ ।
सार्वभौम जनताको सर्वोच्च निर्णायक थलो निर्वाचित संसद्लाई दुई-दुईपटक विघटन गर्ने, निरंकुश र सर्वसत्तावादी ‘ओली प्रवृति ’ को सरकारबाट जनताको सर्वोच्चता, संसद्को सार्वभौमिकता, व्यापकता र गरिमा जोगाउन यो निर्वाचन सफल भएको छ । संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीता , समानुपातिकता जस्ता परिवर्तनका पिलरलाई आधार बनाउँदै समावेशी र व्यापक प्रतिनिधित्वमूलक निर्वाचन पद्वतिले हाम्रो लोकतन्त्रको सामाजिक आधारलाई निकै फराकिलो र सहभागिता मूलक बनाउने राष्ट्रिय संकल्प लाई अझै नयाँ उचाईमा अघि बढाउनुपर्ने जिम्मेवारी नेकपा एकीकृतको काँधमा आएको छ ।
वैकल्पिक धारको उदय
हामी लोकतान्त्रिकरणको युग समाप्त गरेर समृद्धिकरणको युग अर्थात जनवादको युग समाप्त गरेर समाजवादको युगमा प्रवेश गरेका छौं । त्यसैले हामी विचारधाराको पुननिर्माण तथा पुनजार्गरणको अभियानमा केन्द्रीत हुनुपर्दछ । हामी विचार, दर्शन, सिद्धान्त, नीति योजना, कार्यक्रम, व्यवहार र संस्कार सबै क्षेत्रमा फरक तथ्य स्थापित गर्न चाहन्छौं ।
विचारको सत्ता, निष्ठाको सत्ता, प्रतिबद्धताको सत्ता कायम गर्दै योजना, नीति र कार्यक्रममा श्रेष्ठता हासिल गर्न चाहन्छौं । नेपाल जस्तो वर्ग विभेदीकरण प्रष्ट भइनसकेको सक्रमणकालिन समाजमा जातीय, क्षेत्रीय, लैगिक, दलित समस्या र धार्मिक साँस्कृतिक विभेदमा पारिएकाहरुको वर्ग पक्षधरता नेकपा ( एकीकृत समाजवादी ) को मूल काम हुनुपर्दछ । किनभने नेपाली राजनीतिमा यी मुद्दाहरु हरेक परिवर्तनमा छुट्दै आएका छन् ।
नेपाली राजनीतिमा उदारवादी धारका रुपमा नेपाली काँग्रेस र कम्यूनिष्ट नामधारी चरम संशोधनवादी कम्युनिष्ट विरोधी धारका रुपमा नेकपा ( एमाले) रहेको छ । अहिले देशीविदेशी प्रतिक्रियावादीहरुले यिनै दुई धारलाई दुई धुव्रीय शक्ति बनाउने षडयन्त्र गरिरहेका छन् । यो षडयन्त्रलाई परास्त गर्दै नेकपा ( एकीकृत समाजवादी ) ले जनताको साथ लिएर वैकल्पिक शक्तिको नेतृत्व गर्नुपर्ने वस्तुगत अवस्थाको सिर्जना भएको छ । त्यसैले हाम्रो पार्टीले नेपाली समाजको विशेषतामा आधारित वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छ ।
यसका आधारहरु पहिलो भूराजनीतिक विशिष्टता, दोस्रो जाति भाषा, धर्म र संस्कृतिको विविधताको संबोधन, तेस्रो, वर्गीयका अलावा जातीय सास्कृतिक विभेदको समूल अन्त्य, चौथो, लोकतान्त्रिक प्रणालीको संस्थागतिकरणमा जोड दिनुपर्दछ । हालै सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं, धनगढी, धरानलगायत १७ स्थानमा स्वतन्त्र उम्मेदवारहरुको विजयले मतदाताहरू आत्मविश्वासी, जागरुक, विवेकशील र स्वाभिमानी हुदै गरेको आंशिक विद्रोहलाई हामीले नजरअन्दाज गर्नुहुंदैन । बरु जनताको जनजिविकाको आवश्यकतालाई सर्वोपरि राखेर स्वास्थ्यसेवा, शिक्षा, खानेपानी, सरसफाइ, खेतीपाती विकास, वन तथा हरियाली प्रवद्र्धन, यातायात, विद्युतीकरण, सामाजिक सुरक्षा तथा न्याय, शान्ति–सुरक्षा र अमनचैन कायम गर्न रातादिन जनताको पक्षमा काम गर्ने वैकल्पिक राजनीतिक शक्ति निर्माणको आधार नकेपा ( एकीकृत समाजवादी ) लाई प्राप्त भएको छ ।
अबको बाटो
नेपाल विशिष्ट प्रकारको भूराजनीतिक अवस्थिति र सामाजिक वनोट भएको मुलुक हो । भौगोलिक, जातीय, भाषिक, साँस्कृतिक, समाजिक र ऐतिहासिक मनोवैज्ञानिक दृष्टिकोणले नेपालको जुन वनोट छ । त्यसको संबोधन पनि सोही जनमुखी अवधारणाकासाथ संबोधन गरिनुपर्दछ । सामन्तवादको अवशेषका रुपमा रहेका आर्थिक शोषण, कुरीति, अन्धविश्वास र रुढिवादको समूल अन्त्यका निम्ति आर्थिक सामाजिक सांस्कृतिक रुपान्तरण अभियान संचालन गर्नु नेकपा ( एकीकृत समाजवादी ) का अगाडि तात्कालिन मुख्य कार्यभार बनेर आएको छ ।
यस कार्यभारलाई व्यवहारमा उतार्न विचारधारात्मक, संगठनात्मक र प्रचारात्मक कार्यसहितको कार्ययोजनाकासाथ आगामी निर्वाचनको पूर्ण तयारीमा जुटुनुपर्दछ । विचारधारात्मक क्षेत्रमा मुलुकको तत्कालीन राजनीतिको नेतृत्व गर्दै नेपाली समाजका अन्तरविरोधहरु हल गर्ने साधनको रुपमा काम गर्नुपर्दछ । नेपालको सन्दर्भमा श्रमिक वर्ग र दलित समुदायको प्रतिनीधित्व गर्ने पार्टी निर्माण अनिवार्य पक्ष हो । समाजको निर्माण केवल वर्गीय सम्बन्धको आधारमा मात्र बनेको हुदैन । जातीय क्षेत्रीय, लैगिक र दलित उत्पीडन र विविधताका आधारमा पनि समाजको संरचना बनेको हुन्छ । नेपालको सन्दर्भमा जातीय क्षेत्रीय, लैगिक र दलित उत्पीडन र असन्तुलन विशिष्ट समस्या हो । विशिष्ट समस्याको संबोधन सामन्य ढंगले संभव छैन ।
यही सत्यलाई आत्मसाथ गर्दै सकारात्मक विभेदसहितको समावेशी समानुपातिक र सहभागितामुलक प्रतिनीधित्वलाई पार्टी वा संगठन निर्माणको आधार बनाइनुपर्दछ । विचारलाई व्यवहारमा उतार्न संगठनात्मक क्षेत्रलाई व्यवस्थित गर्नुपर्दछ । त्यसैले पार्टीेले अँगालेको सिद्धान्त, विचार, नीति र दृष्टिकोण स्पष्ट पार्ने, पार्टीको सङ्गठनात्मक सिद्धान्त र पद्धतिबारे प्रष्ट पार्ने, पाटीका नेता र कार्यकर्ताको आचरण र व्यवहारबारे स्पष्ट पार्नेलगायतका प्रशिक्षण दिनुपर्दछ । बलियो सङ्गठन निर्माण र त्यसको प्रभावकारी परिचालनबाट मात्र राजनीतिक शक्ति निर्माण हुन सक्छ भन्ने मान्यताकासाथ हामीले संगठनका हरेक स्तरका स्थानीय कमिटीहरुको गठन तथा पुर्नगठनको प्रकृयालाई निरन्तर अगाडि बढाउनुपर्दछ ।
संगठनको मुल आधार तथा शक्ति हाम्रा सदस्य र स्थानीय कमिटी नै हुन भन्ने मान्यताका आधारमा राष्ट्रव्यापी अभियानमा जुट्नुपर्दछ । साथै, प्रभावकारी प्रचारविना राजनीतिक वैचारिक एवं साङ्गठनात्मक काम कहिल्यै पनि अगाडि बढ्दैन । त्यसैले यस महत्वपूर्ण कामलाई व्यवस्थित रूपमा अगाडि बढाउन प्रचारको कामलाई व्यवस्थित गर्नुपर्दछ । केन्द्र बाहेक प्रदेश तथा स्थानीय कमिटीहरूले पनि प्रचारको ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्दछ ।
आगामी चुनावका निम्ति विभिन्न खालका प्रचार सामग्रीहरूको निर्माण अहिलेदेखि नै गर्नुपर्दछ । सबै संगठन कमिटीले पार्टीको चुनाव चिन्ह कलमको प्रचार व्यापक रूपमा गर्ने कुरामा जोडतोडकासाथ लाग्नुपर्दछ । संगठन निर्माण मात्र भएर भएन यसको सही अभिलेख पनि उतिकै महत्वपूर्ण पक्ष हो भन्ने पक्षलाई पनि ध्यान दिनुपर्दछ ।
यिनै मुद्दालाई आगामी निर्वाचनमा नेकपा ( एकीकृत समाजवादी ) ले सम्पूर्ण शक्तिकासाथ आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनतामाझ जाने र उनीहरूको मन जित्ने एउटा महत्वपूर्ण अवसरकारुपमा लिनुपर्दछ । त्यसैले आफ्नो सम्पूर्ण शक्तिकासाथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो । नेपाली राजनीतिमा व्याप्त व्यक्तिवादी अहङ्कारवाद, दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, चरम गुटबन्दी र निरङ्कुश एवम् स्वेच्छाचारी प्रवृत्तिका विरुद्ध तिखो वैचारिक सङ्घर्ष सञ्चालन गरेर मात्रै उपर्युक्त जिम्मेवारीहरू पूरागर्न र दायित्व वहन गर्न सकिनेछ ।
आगामी निर्वाचनमा पहिलो सामन्तवादका अवशेषहरुको समूल अन्तय गर्ने, दोस्रो उत्पादनका साधनस्रोतहरुमा पहुंच बृद्धि गर्ने, तेस्रो आथिृक सामाजिक प्रगतिशील रुपान्तरणका कायृक्रमहरु, चौथो, समावेशी आत्मनिर्भर अर्थतन्त्रको निर्माण, पाँचौं, स्थानीय तहलाई समाजवादको आधार बनाउने र छैठौं जनताको सच्चा प्रतिनीधिको रुपमा बैकल्पिक शक्तिको रुपमा नेकपा एकीकृत समाजवादीलाई स्थापित गर्ने मूल काम बनाइनुपर्दछ । त्यसैले आउनोस् कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र एकताको अभियान अगाडि बढाउने र समाजवादको झण्डालाई माथि उठाउने महान अभियानमा दृढ विश्वासका साथ जुटौँ ।