काठमाडौ , भदौ ६
मदन भण्डारी स्कुल अफ एशियाको आयोजनामा ३ हप्ते क्लोज क्याम्प सम्पन्न भएको छ । २१ दिन सम्म सञ्चालन भएको क्याम्प आइबार सकिएको हो । समापन कार्यक्रममा मदन भण्डारी स्कुल अफ एशियाका अध्यक्ष बलराम बाँस्कोटाले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै धन्यवाद दिनुभयो ।
क्याम्पमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न १६ देशका नेताहरूको सहभागिता रहेको थियो । क्याम्पमा अर्जेन्टिना ,व्राजिल,युएस,स्पेन,वास्क कन्ट्री ,घाना,साउथ एसिया, थाइल्याण्ड ,मलेसीया, श्रीलंका, पाकिस्थान , वंगलादेश प्लालेस्टाईन र नेपालका ६० जनाको सहभागिता रहेको आयोजक संस्थाका माधव पन्तले बताउनु भयो ।
क्याम्पमा समाजवादी शिक्षण सिकाईको प्रयोग गरिने बताइएको छ । क्याम्पमा मार्क्सवाद र लेनिनवादका विविध आयाम ,पछिल्लो अनुभवको बारेमा वर्ग संघर्ष ,कम्युनिष्ट घोषणापत्र, पुँजीवाद र साम्राज्यवादका विरुद्ध समाजवादको पक्षसँगका छलफलहरू गर्दै कम्युनिष्ट आचरणलाई जोगाउने कामको सिकाइ हुने स्कुल अफ एसियाका अध्यक्ष बलराम बाँस्कोटाले बताउनु भयो ।
विश्वमा १५ वटा मार्क्सवादी स्कुल मध्ये एशियाकै नेपालमा मात्र मदन भण्डारीको नाममा रहेको मदन भण्डारी स्कुल अफ एसियाले माक्सवादको महत्वपूर्ण र गहिरो अध्ययन गर्दै आएको जसमा अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरूको सहभागिता रहेको स्कुल अफ एशियाका कोअर्डिनेटर प्रमेश पोख्रेलले बताउनु भयो ।
प्रशिक्षणमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरू सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ,सम्मानित नेता झलनाथ खनाल ,उपमहासचिव डा. विजय पौडेल ,सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , नारायण काजी श्रेष्ठ लगायत विभिन्न देशका नेताहरूले सहजिकरण गर्नुभएको थियो ।
तत्कालीन एमाले महासचिव मदन भण्डारीको नाममा विश्वभरका कम्युनिष्ट प्रतिनिधिलाई भेला गराएर उदारवादबारे थप जानकारी गराउने उद्देश्यले मदन भण्डारी स्कुल अफ एशियाको संयोजनमा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बाँस्कोटाले बताउनु भयो । ग्लोबल स्कुलको रुपमा परिचित उक्त कार्यक्रममा भाग लिन काठमाडौंमा १६ वटा मुलुकका ६० वामपन्थी प्रतिनिधिहरूको सहभागिता थियो ।
समापन कार्यक्रममा तालिममा तयार भएका ७ वटा ग्रुपका गु्रप लिडरहरु वास्क कन्ट्रीवाट एन्दोनि ,अमेरीकाबाट रामन ,केरलाबाट सिल्पा ,ब्राजिलबाट दान्दारा ,मलेशियावाट कृष्टिन र एशिन र वंगालादेशवाट लिडियाले आ आफ्नो समूहको तर्फबाट धारणा राख्नुभएको थियो ।