काठमाडौं, भदौ १
नेकपा ( एकीकृतसमाजवादी ) ले आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य उम्मेदवार हुन सात मापदण्ड तय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको ३५ औं बैठकले सातवटा मापदण्ड तयार गरेको हो ।
जस अनुसार पार्टीको कार्यदिशा ,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको ,पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक र नैतिक आचरण राम्रो भएको, जनतामा स्थापित र लोकप्रिय रहेको, स्वच्छ छवि र सुशासनको पक्षपाती, कार्यक्षमता र सक्रियता राम्रो भएको हुनुपर्ने मापदण्ड तयार भएको महासचिव. डा. वेदुराम भुसालले बताउनु भयो ।
समावेशी समानुपातीकका सिद्धान्तलाई आत्मसात गर्दै सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन बैठकले निर्देशन दिएको छ । भदौ २० भित्र जिल्ला र प्रदेशबाट पठाइएका नाम सिफारिसमा केन्द्रले छलफल गरेर टुंग्याउने भएको छ ।
यस्तै नेकपा ( एकीकृतसमाजवादी ) ले नेकपा ( माओवादीकेन्द्र ) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति बनाउने समेत निर्णय गरेको छ । वामहरुको बीचमा एकताको पहल नेकपा ( एकीकृतसमाजवादी ) र नेकपा ( माओवादीकेन्द्र ) बाट सुरु हुने भन्दै दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरूमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताउनु भयो ।
समितिमा पार्टीका शीर्ष नेताहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू रहनुपर्ने सुझाव दिएको बताउनु भयो ।