काठमाडौँ, साउन २५
नेकपा (एकीकृतसमाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ वा छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताउनु भएको छ ।
बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले देशको चार किल्ला कहाँ छ भन्ने कुरा कुनै पनि नेतालाई थाहा नरहेको बताउनु भएको हो ।
मेची र महाकाली सीमाना भनिरहँदा त्यस बीचका कति भूभागमा अतिक्रमण भएको छ भन्ने बारेमा सबै अन्जान रहेको उहाँको भनाई थियो । प्रधानमन्त्री, राजनीतिक दलका नेता र पार्टी अध्यक्षले देशको ठिक सीमाना भन्न सकेको दिन सच्चा देशभक्त ठहरिने भन्दै खतिवडाले , ‘देशको यो भू-भाग यहीँ छ भनेर देखाइदिए सबै नेताहरू त्यही दिन देशभक्त र क्रान्तिकारी ठहरिने बताउनु भयो ।
आफ्नै नागरिकहरू देशभित्र शरणार्थीको रुपमा बस्न बाध्य छन् तर राज्य सत्ता मौन छ। निःशब्द छ। सीमानामा काँडेतार लगाउनुभन्दा पहिला देशका राजनेता र राजनीतिक दलहरुले मस्तिष्कमा काँडेतार लगाउनुपर्ने बताउनु भयो । देशमा आफ्नै नागरिक शरणार्थी बनेर बस्नुपर्दा समेत राज्य सत्ता मौन र निःशब्द रहेको भन्दै खतिवडाले ‘केही समयअघि मैले एउटा पार्टीको अध्यक्षलाई सोधेको थिएँ, के तपाईँलाई मेरो देशको चार किल्ला ठ्याक्कै यो ठाउँमा हो भन्ने थाहा छ ? भनेर सोधेको थिएँ ।
आज मैले फेरि हाम्रो चार किल्ला मेची र काली त भन्यौँ तर मेची र काली भित्रको भूभाग पक्का हाम्रो छ भन्ने ग्यारेन्टी छ ? देशका प्रधानमन्त्रीले त्यो भन्न सक्नु हुन्छर ? राजनीतिक दलका नेताहरुले , पार्टीका अध्यक्षहरूले त्यो भन्न सक्नुहुन्छ ? म पूर्ण विश्वस्त छु, सक्नुहुन्न ।’उहाँले भन्नुभयो ।