काठमाडौ, साउन १७
नेकपा (एकीकृतसमाजवादी) का उपमहासचिव तथा पार्टीका विपद् व्यवस्थापन विभागका प्रमुख डा. गंगालाल तुलाधरले हालै खोटाङ आसपासमा गएको भुकम्पले गरेको क्षतिको अध्ययन गर्न सरकारलाई संग माग गर्नुभएको छ ।
उहाँले कतिपय स्थानीय निकायहरूबाट त्यसबारेमा माग समेत भै आएको भन्दै पालिकाहरूमा भूकम्पीय विपद जोखिम र क्षतिको तत्काल अध्ययनको आवश्यकता औँल्याउनु भएको हो ।
नेपाल सरकार अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनिकरण र व्यवस्थापन परिषदका विज्ञ सदस्य समेत रहनु भएका तुलाधरले क्षतिको माग गर्दै कतिपय स्थानीय निकायहरूले माग समेत गरेको र वर्षा सँगैको भूकम्पले जनधनको के कति क्षति भएको हो त्यसको यथार्थ विवरण संकलन सहित आवश्यक क्षतिपुर्ति र सहयोग समेत सरकारको तर्फबाट गर्नुपर्ने भन्दै अविलम्ब अध्ययन टोली त्यस तर्फ पठाउन नेपाल सरकारसँग माग गर्नुभएको छ ।
खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ ।
हालसम्म संकलन विवरण अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जिल्ला विपद् व्यवस्थापन कार्यालयले जनाइएको छ । साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको ६ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरूपमा भत्किएको छ ।
साकेला गाउँपालिकाका अनुसार भूकम्पको ‘इपिसेन्टर’ साकेलामा हालसम्म चार सय ६४ घरमा क्षति भएको छ । जस्मा बाँझेच्यानडाँडामा एक सय ३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा एक सय पाँच र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो ।
भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक-एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिनुभयो । ‘जिल्लाका १० वटै स्थानीय तहलाई भूकम्पको क्षतिको वितरणचाहिँ तीन दिनभित्र दिन आग्रह गरिएको बताइएको छ ।