काठमाण्डौं, साउन ९
विश्वको भू-राजनीतिक तनाव र नेपालको परिस्थिति विषयक जनबहस कार्यक्रममा विज्ञहरुले नेपाल गम्भीर भू राजनीतिक संकटबाट गुज्रिरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको उपलक्ष्यमा पुष्पलाल मित्रता केन्द्रले काठमाडौंमा आइतबार आयोजना गरेको जन बहस कार्यक्रममा सहभागी विज्ञहरुले वर्तमान विश्वमा उदय हुँदैगएका चीन, भारत लगायतका देशहरु र पतन हुँदै गएका अमेरिका लगायतका देशकहरुबीचको टकरावका कारण नेपाल गम्भीर भू राजनीतिक संकटबाट गुज्रिरहेको बताएका हुन् ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनतालाई स्वाधीनता प्यारो भएको भन्दै देशको स्वाधीनताको लागि पनि परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भयो । “इन्डो प्यासिफिक स्ट्राट्रेजीमा अमेरिकाले रुस, चीन र उत्तर कोरियालाई शत्रुको घोषणा गरेको छ । विश्वशक्ति दुई खेमामा विभाजन भएको अवस्थामा हामीलाई कसैले फसाउन खोजे त्यो सैह्य नहुने साथै कुनै पनि किसिमको अतिवादमा नेपाल फस्न नहुनेमा उहाँले जोड दिनुभयो ।
‘मैले र प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई तुरुन्त अमेरिकालाई चिठी पठाउनुहोस्, ढिला हुने काम नहोस् भन्यौं’ नेपालले भन्नुभयो , ‘जनताको तहबाट पनि आवाज उठ्नुपर्छ । जनता सजक हुनुपर्छ । अध्यक्ष नेपालले नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न खोज्छ भने त्यो नेपाली जनतालाई सैह्य नहुने चेतावनी समेत दिनुभयो ।
मुलुकको परराष्ट्र नीतिको मामिलामा दलहरुबीच राष्ट्रिय सहमति हुनुपर्ने आवश्यक्ता रहेको भन्दै अध्यक्ष नेपालले आफू परराष्ट्रमन्त्री र प्रधानमन्त्री भएको बेलामा परराष्ट्र नीति र नेपालको राष्ट्रिय सुरक्षा नीतिको दस्तावेज तयार पारे पनि त्यसमा राष्ट्रिय सहमति जुटाउने काम हुन नसकेको बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुलुकको स्वाधीनताको रक्षाका लागि सबैभन्दा पहिले राजनीति सफा गर्नुपर्ने बताउनुभयो । हरेक पार्टीमा शुद्धीकरण चलाउनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । श्रेष्ठले सरकार जोगाउन खोज्दा राष्ट्रियता नै खतरामा पर्ने संकेत देखापरेको भन्दै राजनीतिक स्वार्थलाई त्याग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अर्का बक्ता तथा चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्केले नेटो पछिल्लो समयमा हिन्द प्रशान्त क्षेत्रतिर आउन खोजिरहेको बताउँदै अमेरिकाले चीन, कोरोना भाइरस र जलवायु परिवर्तनलाई आफ्नो सबैभन्दा ठूलो सत्रु ठानेको अवस्थामा विश्वको भूराजनीतिक तनावले नेपाललाई समेत प्रभावित पार्न सक्नेतर्फ सचेत गराउनु भयो । साथै उहाँले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणीलाई अहिलेसम्म अमेरिकाले मान्यता नदिएको पनि जानकारी गराउनु भयो ।
जनबहसमा बोल्दै डा. खगेन्द्र प्रसाईले चीनलाई लामो समयदेखि उत्तेजित गर्न अमेरिकाले खोजिरहेको भन्दै चीन र भारत असुरक्षित हुँदा नेपाल सुरक्षित हुन सक्ने सम्भावना नरहेको बताउनु भयो । प्रसाईले असंलग्नताको औचित्य आज पनि त्यत्तिकै रहेको बताउनु भयो । डा. प्रसाईले भन्नुभयो, ‘चीनलाई सबैभन्दा ठूलो शत्रु ठान्ने अमेरिकी नीति डरलाग्दो भविष्यको संकेत हो ।’
कार्यक्रम आयोजक संस्था पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले विश्वको भू राजनीतिक तनावको चेपुवामा नेपाल परेको बताउँदै एसपीपीलाई नेपाल सरकारले अस्वीकार गरिसकेको अवस्थामा परराष्ट्र मन्त्रालयले त्यस विषयमा अध्ययन गर्दै छु भन्नु आश्चर्यजनक कुरो भएको बताउनु भयो ।