काठमाडौं,साउन ५
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०५१ सालमा तत्कालिन सरकारले ल्याएको लोकप्रिय कार्यक्रम आफ्नै पहलमा आएको बताउनु भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय स्कुल विभागले आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो गाउँ आफैँ बनाऊँ अभियान आफ्नै पहलमा सुरु गरिएको दावि गर्नुभएको हो ।
‘स्थानीय तहलाई हाम्रो पार्टीले जति महत्व हाम्रो पार्टीले जति दियो अरूले दिएनन् । आफ्नो गाउँ आफैँ बनाऊँ भन्दै नेपालको इतिहासमा कुन पार्टीले सुरु गर्यो स्थानीय तहका रकम छुट्टाएर पठाउने काम कुन पार्टीले सुरु गर्यो ’ अध्यक्ष नेपालले भन्नुभयो ‘हाम्रो त्यो बेलामा पार्टी नेकपा एमाले त्यसको अध्यक्ष मनमोहन अधिकारी हुनुहुन्थ्यो । म आफैँ महासचिव थिए ।’
२०५१ सालको सरकारले गरेको कामको स्मरण गर्दै नेपालले आफू उपप्रधान, परराष्ट्र र रक्षा मन्त्री हुँदा अर्थमन्त्रीलाई आग्रह गरेर सरकारले लोकप्रिय योजना ल्याएको दाबी गरे ।
‘मैले नै पहल गरेर भरत मोहन अधिकारीसहित बसेर आफ्नो गाउँ आफैँ बनाऊँ सुरु गरौँ प्रत्येक गाउँमा बजेट पठाउन भनेका हौँ’ उहाँले भने, ‘हाम्रै साथीहरूले यसको विरोध गर्नु भएको थियो ।’
अध्यक्ष नोपलले कांग्रेस जितेको ठाउँमा बजेट नपठाउने दबाब आइरहेको भन्दै आफूले त्यसको विरोध गर्दै ३ लाख पठाएको स्मरण गर्नुभयो ।
शिक्षा सडक सिचाईँ, स्वास्थ्य, सीप विकास, साना तथा घरेलु उद्योग लगायत ‘९ स’ अभियान पनि आफ्नै पहलमा सुरु गरेको उहाँको दाबी थियो । विगतमा भएका कामहरूको मूल्याङ्कन गर्दै आगामी दिनमा आफ्ना पार्टीका कार्यकर्ताहरूलाई यस्तै लोकप्रिय काम गर्न निर्देशन दिए ।
राम्रो काम सिकेर आफ्नो पालिकामा लागू गर्न उनले निर्देशन दिए । स्थानीय तहमा २०४९ साल र २०५४ सालमा पनि राम्रो काम भएको उहाँले बताउनु भयो ।
नेपालले पहिलो पटक नेकपा एकीकृत समाजवादी स्थानीय तहको निर्वाचनमा होमिए पनि उत्साहपूर्ण उपलब्धी नभएको जिकिर गर्दै उहाँले थोरै क्षेत्रमा उम्मेदवार उठाउँदा पनि मत कम भएको उनको ठहर थियो ।
‘चुनावमा हामीले पाएको सफल सानो होइन । ३५ हजारमध्ये २७.९२ प्रतिशतमा उम्मेदवारी दिएका थियौँ । त्यसमा पनि ९ लाख २७ हजार ५ सय १४ भोट पाएका थियौँ’ उहाँले भन्नुभयो ‘सत प्रतिशत स्थानमा उम्मेदवारी उठाएको भए २५ लाख भन्दा धेरै भोट आउने थियैं ।’
आगामी संसदीय निर्वाचनमा समानुपातिक तर्फबाट २० देखि २५ लाख मत पाउने गरी काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिंदै अध्यक्ष नेपालले आफूहरु पुरानो पार्टी भन्दा भिन्न हुनुपर्ने भन्दै जनप्रतिनिधिहरूलाई व्यक्तिवादी प्रवृत्तिबाट हटाउनु पर्ने । क्रान्तिकारी दृष्टिकोणले अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।