काठमाडौँ,साउन ३
सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधिन संघीय संसद भवनको मंगलबार बिहान निरिक्षण गर्नुभएको छ । उहाँले निर्माण कार्यमा ढिलाई नगर्न निर्देशनसमेत दिनुभएको छ ।
नयाँ बन्दै गरेको संघीय संसद भवनमा बानेश्वरभन्दा केके सुविधा छन् भन्ने मन्त्री चौधरीको जिज्ञाशामा आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठले भन्नुभयो , ‘भवन अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । दलका कार्यालयहरु, संसद सचिवालय, विकास समिति, सङ्ग्रहालय, पुस्तकालय, प्रतिनिधि सभा र राष्ट्रिय सभाका भवन, भिभिआइपी भवन, आरामदायी लबी, वातानुकुलित कक्ष रहेका छन् ।’
भवनमा करिब ३ सय ५० गाडी अट्ने अण्डरग्राउण्ड पार्किङ र त्यति नै संख्यामा भवनबाहिर पार्किङको व्यवस्था, फोहरासहितको आकर्षक बगैँचा, आधुनिक सुरक्षा व्यवस्था, आगलागी नियन्त्रण, भूकम्प प्रतिरोधी, सिभेज ट्रिटमेन्ट प्लान्ट, १२ लाख लिटर क्षमताको अण्डरग्राउण्ड पानी ट्याङ्की लगायतका थुप्रै सुविधा राखिएको छ ।
लागत खर्च, समय अवधि र कार्य प्रगतिबारे मन्त्री चौधरीको जिज्ञासामा ठेकेदार कम्पनीका प्रतिनिधि काशीनाथ डोटेलले कोभिडका कारण सामग्री अभाव, एलसी खोल्न शतप्रतिशत मार्जिनको सरकारको नयाँ प्रावधान, अनियन्त्रित मूल्यवृद्धि लगायतका कारण काममा ढिलाइ भएको बताउनु भयो ।
२०७६ साल असोजबाट सुरु भएको भवन निर्माणको कुल लागत खर्च ५ अर्ब २ करोड रहेको छ । ३ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि कोभिडका कारण ६ महिना थप गरिएको हुँदा ०७९ चैत्रसम्म सकिनुपर्ने समयसीमा रहेको छ । आयोजना सुरु भएको ३ वर्ष पुग्नै लाग्दा हालसम्म जम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको टुन्डी शेक कम्पनीले बताएको छ ।
मन्त्रालयका सचिव डा.रमेश सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगाल, उपमहानिर्देशक दिलिप भण्डारी, चक्रवर्ती कण्ड र सचिवालयको टिमसहित भवन निर्माण स्थल पुगेका मन्त्रीले यति लामो अवधिसम्म पनि जम्मा ४५ प्रतिशत मात्र काम भएकोमा असन्तुष्टी व्यक्त गर्दै भने समयसीमाभित्रै तदारुकताका साथ काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।