काठमाडौं,असार ३१
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले स्थानीय चुनावमा धेरै पाउन नसके पनि एमालेलाई हराउन काफी भएको दाबी गर्नुभएको छ ।
एकीकृत समाजवावदी वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूको शक्तिलाई अवमूल्यन गर्दा गठबन्धनले पनि उल्लेख्य सफलता पाउन नसकेको बताउनु भएको छ ।
अध्यक्ष नेपालले भन्नुभयो ‘निकै ठूलो सम्भावना भएको भनिएको पार्टीले निकै ठूलो धक्का खान पुग्यो । हामी ग्राफ हेर्दै थियौं, कांग्रेसले कति पायो, एमाले र माओवादीले कति जिते भन्ने ग्राफ । राजनीतिमा आफूले धेरै पाउन सकेनन् भने अर्कोलाई सिध्याउन पनि काफी हुन्न ।
अहिले सुन्नुभएको होला, कतिपय ठाउँमा एक सिट जितेकोलाई मुख्यमन्त्री बनाइयो । हाम्रो शक्तिलाई अवमूल्यन गर्छन् भने महँगो मूल्य चुकाउनुपर्न हुन्छ ।’
अध्यक्ष नेपालले आफूहरू गठबन्धनको नाममा बढी आशावादी भइरहेको भन्दै एक्लै आफ्नो शक्ति बनाउन लाग्नुपर्ने बताउनु भयो । उहाँले गठबन्धनको उम्मेदवार भएपछि सानदार जितिन्छ भन्ने भ्रममा नबस्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।
आफ्नो शक्ति बनाउन लाग्नुपर्ने भन्दै अध्यक्ष नेपालले हामीले कांग्रेस र माओवादीलाई हिर्काएको हिर्काएकै छौं तिमीहरूको अहंकार, धोखाधडी र बेइमानीले जसरी गठबन्धनले जित्नुपर्थ्यो त्यो नहुने खतरा अहिले पनि छ भनिरहेका छौं । तर, हामीसँग अरु विकल्प पनि छैन ।’
अध्यक्ष नेपालले एमालेले अहिले आफूहरुलाई धेरै प्रहार नगरेकाले आफूहरूले पनि धेरै प्रहार नगर्ने भन्दै तर, एमालेको भ्रममा पर्न नहुने समेत बताउनु भयो ।
आगामी निर्वाचनमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय भएर परिचालित हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
बागमती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकमा आज उहाँले प्रत्येक वडा र पालिकासम्म पार्टीका जनवर्गीय सङ्गठनलाई विस्तार गर्न पनि उनले आग्रह गर्नुभयो । पहिलो काम कमिटी बनाउने, दोस्रो काम कमिटीलाई सक्रिय बनाउने, तेस्रो काम कमिटीका सदस्यलाई जनता माझमा व्यापक रुपमा परिचालन गर्न सक्रियतापूर्वक लाग्न पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
संघ र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले सोही अनुरुप लगनशील भएर आफ्नो पार्टीको प्रतिनिधित्व हुनेगरी लाग्न उहाँको आग्रह थियो ।
बागमती प्रदेशका अध्यक्ष सावित्री भुसालले जिल्लाबाट प्राप्त भएको प्रतिवेदन पेस गर्ने, वर्तमान शक्ति सन्तुलन, पार्टी र सङ्गठनको अवस्था जस्ता विषय बैठकका ऐजेन्डा रहेको बताउनु भयो ।
त्यसैगरी बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा, विगतमा प्राप्त गरेको उपलब्धि र कमजोरीका सँगै आगामी कार्यदिशाका बारेमा पनि छलफल हुने बताइएको छ । कार्यक्रममा १३ जिल्लाका नेता कार्यकर्ता सहभागी हुनुभएको थियो ।