काठमाडौं,असार ३०
त्रिभुवन विश्वविद्यालयमा भएको चरम लापरवाही र शैक्षिक क्षेत्रमा भएको बेथितिका विरूद्ध अनेरास्ववियूका विद्यार्थी नेताहरू आमरण अनशनमा बसेका छन् । त्रिभुवन विश्वविद्यालयको सुधारका लागि विद्यार्थीहरू अनशनमा बसेका हुन्।
त्रिभुवन विश्वविद्यालय भित्र भएको विकृति, विसंगति र शैक्षिक क्षेत्रमा भएको बेथितिका विरूद्ध अनेरास्ववियूका विद्यार्थी नेताहरू किर्तिपुर स्थित उपकुलपति कार्यालय परिसरमा मंगलबारदेखि अनशनमा बसेका हुन् ।
व्यवस्थापन संकायअन्तर्गत बीबीएको असार २२ र २४ मा सञ्चालित परीक्षामा हुबहु प्रश्नपत्र आएपछि विद्यार्थी सोमबार उपकुलपति कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए । सोही क्रममा विद्यार्थी पक्राउ परेपछि अनेरास्ववियूले कार्यालयमा नै आमरण अनशन बसेको विद्यार्थीहरूको भनाइ छ ।
विश्वविद्यालयको विकृति विसंगति अन्त्यका साथै १३ बुँदामा आफ्ना माग राख्दै अनशन शुरु गरिएको अनेरास्ववियूका उपाध्यक्ष माधव पन्तले जानकारी दिनुभयो ।
धेरैको आशा र भरोसाको केन्द्र विन्दु भएको त्रिविमा भएका यस्ता वेथितिले त्रिविको प्रतिष्ठमा आँच आएको र यस्ता वेथितिलाई जरैदेखि उखेल्नु पर्ने विद्यार्थीको धारणा छ ।
त्रिविले पर्याप्त स्रोत साधन युक्त शिक्षा दिन नसकेको तर विद्यार्थीहरूबाट चर्को शुल्क असुल्ने गरेकोमा विद्यार्थीले असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबारबाट शुरु भएको अनशनलाई लिएर त्रिविले तत्काललै वार्ता समिति गठन गरी विद्यार्थीको माग सम्बोधन गर्न आन्तरिक छलफलमा जुटेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशलायका निर्देशक प्राध्यापक पशुपति अधिकारीले बताउनुभयो ।
अनेरास्ववियुले एमफिल पीएचडीलाई नियमित कार्यक्रमका रूपमा लागू गर्नुपर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने लगायत माग राखेका छन् । त्रिविले लिने परिक्षाको प्रश्नपत्र दोहोरिनु वा पहिला नै बाहिरिनु, त्रिवि सेवा आयोगले लिएको परीक्षाको नतिजा शून्यमा आउनुमा त्रिवि विद्यार्थीको शिक्षा प्रति जिम्मेवार नभएको उपाध्यक्ष पन्तको भनाई छ ।