काठमाडौं, असार २८
नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरु र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओलेवीच भेटवार्ता भएको छ ।
बुधबार होटल एभरेष्टमा प्रमुख लिउ जियानचाओले नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका हुन् । उक्त भेटमा दुई देश र दुई पार्टीको सम्बन्ध र पारस्परिक लाभका विषयमा छलफल भएको बताईएको छ ।
भेट वार्तामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल,सम्मानित नेता झलनाथ खनाल सहित उपाध्यक्षहरु प्रमेश हमाल र जयन्ती राई, उप महासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र उप महासचिव गङ्गालाल तुलाधर ,प्रकाश ज्वाला,लगायतका नेताहरु र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको हो । भेटपछि सञ्चारकर्मीसँगको कुराकानी गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताउनु भयो ।
दुई पक्षीय भेटवार्तामा नेपाल र चीनबीचको सम्बन्ध घनिष्ट बनाउनेदेखि दुई पार्टीबीचको सम्बन्ध अझ बलियो बनाउने भन्ने विषयमा कुराकानी भएको बैठकपछि नेपालले जानकारी दिनुभयो ।
‘नेपाल र चीनबीचको सम्बन्ध घनिष्ट बनाउनेदेखि दुई पार्टीबीचको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषयमा कुराकानी भए’, अध्यक्ष नेपालले भन्नुभयो नेपालबाट चीन र चीनबाट नेपालले सिक्ने कुराहरुमा डेलिगेसन आदान प्रदान गर्ने विषयमा छलफल र कुराकानीहरू भए ।’
भेटवार्तामा नेपाल एक चीन नीतिमा दृढ रहेको तथा नेपालको भूमि बाह्य हस्तक्षेपका लागि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको चीनसँगको सम्बन्धमा कुनै समस्या रहेको छैन भन्नेमा विश्वास पनि दिलाएको अध्यक्ष नेपालको भनाइ थियो ।
त्यसक्रममा चिनियाँ पक्षले नेपाललाई महत्व दिएको र सहयोग आदान प्रदानमा कुनै कमि नआउने जवाफ दिएको थियो । चिनियाँ पक्षले आम रुपमा नेपाल एक भएको र नेपालका पार्टीहरू एक भएको हेर्न चाहेको बताएका थिए । ‘नेपाल र नेपालका पार्टी एक भएकोबारे चर्चा भएको भन्दै एकता नै बल हो । नेपालका पार्टीहरू एक भएर बढून् भन्ने उहाँहरुको अपेक्षा रहेको देखियो’, अध्यक्ष नेपालले भन्नुभयो ‘चीनको सुरक्षा चासोलाई प्रस्ट पार्ने काम हामीले गरेका छौँ । केही केही समस्या जन्मेका भएपनि पार्टी र जनताले खबरदारी गर्छन् तर हामी स्वतन्त्र र परराष्ट्र नीतिका बारेमा हामी प्रतिवद्ध छौ भन्ने कुरा राख्यौ ।’
चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको बताउनु भयो । अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट र चीनको कम्युनिष्ट जनवर्गीय संगठनका बारेमा पनि कुरा भएको बताउनु भयो ।
चीनसँग नेपालको कुनै समस्या नभएको कुरा राखेको भन्दै अझै चीन र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाएर लैजाने कुरा राखेको बताउनु भयो । अध्यक्ष नेपालले चिनियाँ पक्षले नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीहरूसँगको सम्बन्धलाई बलियो बनाउन चाहेको कुरा राखेको उल्लेख गर्नुभयो ।
लिउले आफू विदेश विभाग प्रमुख भएपछि पहिलो प्राथमिकता नेपाललाई दिएको कुरा राखेको भन्दै अध्यक्ष नेपालले दिपक्षीय बीचको भेटवार्ता फलदायी भएको बताउनु भयो ।
चिनियाँ पक्षले पनि नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको र सम्बन्धलाई थप बलियो बनाउन चाहेको कुरा बताउनु भयो । अेध्यक्ष नेपालले दुई देशबीचको सम्बन्धलाई बलियो बनाएर लैजाने कुरामा दुवै पक्षले कुरा राखेको उल्लेख गर्दै नेपालका कम्युनिष्टहरू एकताबद्ध भएर अघि बढे राम्रो रहेको कुरा प्रमुख लिउले राखेको बताउनु भयो ।