बुटवल,असार २५
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पार्नुभएको छ ।
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै संघ तथा प्रदेशको निर्वाचनसम्म कायम रहने बताउनु भएको हो ।
सम्पन्न स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको बताउनु भयो । एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको बताउँदै आगामी निर्वाचनका लागि समाजवादी जुटिसकेकाले थप सफलता प्राप्त गर्ने बताउनु भयो ।
गठबन्धन आवश्यकताअनुसार भएतापनि स्थानीय तहमा आफूहरू आफ्नै बलमा निर्वाचन लडेको भन्दै अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुमाथि षडयन्त्र भएको बताउनु भयो ।
‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो’ उहाँले भन्नुभयो, ‘मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’
‘पाँचदलीय गठबन्धनको सरकारले यो देशका विभिन्नखाले संकटबाट जोगाउँदै अगाडि भन्दै अध्यक्ष नेपालले, ‘हामीले जनतालाई अन्धराष्ट्रवादी होइन, सच्चा देशभक्त बनाउन लागिरहेको बताउनु भयो । एसपीपीको विषयमा विगतमा केही भए पनि सैन्य रणनीतिको अंग बन्दैनौं भनेर प्रस्ट पारिसकेका छौं ।’
अध्यक्ष नेपालले जनतालाई समेत ठीक र बेठीकको पहिचान गर्न सामाथ्य बनाउनु पर्ने भन्दै ‘ठीकको समर्थन गर्ने, बेठीकको आलोचना गर्ने सामर्थ्य भएको जनता बनाउनुपर्छ । ताकि नेपालीहरू इमानदार छन्, जानकार छन् र ठीक बेठीक छुट्याउन सक्छन् भन्ने पार्नुपर्छ’, उहाँले भन्नुभयो ।