काठमाडौं,असार२४
नेकपा (एकीकृत समाजवादी) की सांसद् पार्वती बिसुन्खेले जलवायु परिवर्तनको नीति तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठको शून्य समयमा बोल्दै सांसद् बिसुन्खेले जलवायु परिवर्तन नीति–२०७६ अन्तर्गत रहेका ६४ वटा अनुकुलन प्राथमिकताका कार्यक्रम सरकारले तत्काल कार्यान्वयनमा ल्याउन माग गर्नुभएको हो ।
‘कन्फरेन्स अफ द पार्टीज अर्थात् कोप सन्धी जुन युनाईटेड नेशन्स फ्रेमवर्क कन्भेन्सन अन कलाईमेट चेन्जको हिस्सा हो। यसमा १९७ पक्ष राष्ट्रमध्ये नेपाल पनि रहेको छ’, उहाँले भन्नुभयो ।
गत वर्ष स्कटल्याण्डको ग्लास्गो सहरमा सम्पन्न कोपको २६ औं सम्मेलनमा सन् २०५० सम्ममा विश्वमा कार्बन उत्सर्जन (नेट जिरो) मा पुर्याउने प्रतिवद्धता नेपालले पनि गरेको भन्दै सांसद बिसुन्खेले त्यसका लागि सरकारले जलवायु परिवर्तनको नीति कार्यान्वयन गर्नुपर्ने बताउनु भएको हो ।
सोही उद्देश्य हासिल गर्नका लागि नेपालले राष्ट्रिय जलवायु परिवर्तन नीति–२०७६ बनाएको सदनमा स्मरण गराउँदै जलवायुजन्य प्रकोपका समस्या समाधानका लागि पनि नीति कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपालले सन् २०४५ सम्ममा कार्वन उत्सर्जन न्युनिकरण(नेट जिरो) मा पुर्याउने प्रतिवद्धता गरेको छ । सो उदेश्य हासिल गर्नका लागि नेपालले राष्ट्रीय जलवायु परिवर्तन नीति २०७६ बनाएको छ जसमा ६४ वटा अनुकुलनका कार्यक्रम प्राथमिकता गरेको पाईन्छ ।
तर दिन प्रतिदिन नेपालमा हिमाल पग्लदै छन् , तालहरु पुरिदै र सुक्दै गएका छन् , अनावृट्रि र अति वृष्ट्रिले गर्दा बाढी पहिरो र डुवानको समस्या वढ्दै गएको छ ।
यी समस्या समाधानका लागि सरकारले कार्यक्रम कार्यान्वयनको नत क्यालेन्डर बनाएको छ नत दातृ राष्ट्र संग गर्नु पर्ने उच्च स्तरिय समन्वय नै गरेको छ, यो समन्वय गर्ने दायित्व सरकारको हो, सरकारले यति संवेदनशिल विषयमा थाहा नपाए जस्तो गर्न पाईदैन, यसका लागि अविलम्व सरकारले पहल कदमी चालोस् भनी सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँदछु उहाँले भन्नुभएको छ ।