काठमाडौं,असार २०
युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालवहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गर्नुभएको छ ।
सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गर्नुभएको हो ।
सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिसक्नुभएका हिमाल आरोही जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लाग्नुभएको र उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराउने इच्छा ब्यक्त गर्नुभएकोले उहॅालाई झण्डा हस्तान्तरण गरिएको संघका महासचिव दिपक जीएमले बताउनु भयो ।
एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहनु भएका जिरेल प्रसिद्ध हिमाल आरोही हुनुहुन्छ । स्थानीय निर्वाचन २०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहनु भएका उहाँले यस अघि सर्वोच्च शिखर सगरमाथा २ पटक आरोहण गरि सक्नुभएको छ ।
उहाँले मनास्ल हिमाल एक पटक,आमा डवलम ३ पटक पुमरी एक पटक,मेरा पिक ५ पटक सिंगा चुली एक पटक,टेनपिक २ पटक ,दम्पोस पिक एक पटक ,लार्के पिक एक पटक,अम्विगेप्चेन एकपटक,आइसल्याण्डपिक एक सय २० पटक लवुजेपिक ३० पटक,सोलु पिक एक पटक,लाङसिसरी एकपटक,नयाँकाङ ३ पटक,एलापिक ३ पटक,रमुदङ एक पटक,खाम्सेकु एक पटक लगायत २६ वढी हिमाल रोहण गरीसक्नुभएको बताइएको छ । नेपाल वाहेक किर्गिस्थानको लेनिन पिक यस अघि पनि चढी सक्नुभएको छ ।
झण्डा हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाही सहित संघका महासचिव जिएम, उपमहासचिव अशोक दाहाल, प्रवक्ता सन्जिप राइ, कार्यलय प्रमुख नरेश गिरि, कोषध्यक्ष दिपक दुवाडी, स्थाइ कमिटी सदस्य रेखा लोप्चन, विशाल खत्री लगायतको उपस्थिति थियो ।
अध्यक्ष शाहीले दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामना सहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गर्नुभएको थियो ।