प्रमिला भावुक
मेरो देश खोज्दै जाँदा देश मैले पाएँ
हिमालको काखमा बसी आमा सुम्सुम्याएँ ।
छामेँ मेची, कोशी, काली, कर्णालीको बेग,
डाँडामाथि बादलुमा वर्षासाथै मेघ ।
बसी हेरे तल पहाड, समथर भूमि,
हिउँको चिसो थेग्न भनी ताप्दै बसेँ धुनी ।
कल्पनाको गहिराइमा खोजेँ जात धर्म,
कहीँ छैन विभेद हो कसले बुझ्ने मर्म ।
चर्दै आउँछन् मुनाल मयुर डाँफे अनि चौंरी,
फूलको रस खोज्दै आउँछन् भमरा र मौरी ।
सोच्न थाल्छु मानव जीवन रङ्ग अनि लिला,
एक झड्का श्वासभित्र विचित्र छ यो दिल ।
शिखरबाट हेर्दै लाग्छ रमणीय देश,
भाषा जात धर्म लिङ्ग मिलेको छ भेष ।
वनजंगल हरियाली नाग झैँ छन् नदी,
हराभरा खेतीपाती अनि झरनाको फेदी ।
झाडी खोँच दूनभित्र घाँसपात लर्केका छन्,
भैंसी गाई बाख्रा वनेल मृग रमाउँदै चर्छन् ।
बकुल्ला र राजहाँस हुल बनाई उड्छन्,
मानवहरु प्रविधिका आविष्कारमा फूल्छन् ।
मेरो देश खोज्दै जाँदा देश मैंले पाएँ
मनको खुशी पोख्न भनी यस्तै गीत गाएँ ।
कोइली न्याउली मयुर ढुकुरसँगै गीत गाउँदा,
स्वर्ग भूमि पाएँ मैले देश खोज्दै जाँदा ।
ज्ञान भूमि मूक्ति भूमि शिखर पहाड तराई,
एउटै मानव एउटै रगत कोही छैनौं पराई ।
जन्म, कर्म, मृत्यु, संस्कार, संस्कृति छन् आफ्नै,
एक माला नेपालीको मिलन फूलको झैं ।
इलाम