काठमाण्डौ,असार १४
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद बैठकले राज्यका सबै अंगमा भ्रष्टाचार व्याप्त भइरहेको भन्दै छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ।
सोमबार र मंगलबार काठमाडौंमा बसेको केन्द्रीय परिषद बैठकले सरकारसँग यस विषयमा छानबिन गर्न माग गरेको हो।
बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पत्रकारहरूसँग कुराकानी गर्दै दैनिक उपभोग्य
स्तुहरूको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरेको बताउनु भयो । योसँगै बैठकले १७ वटा विभिन्न विषयमा निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकले किसानहरूलाई सहज तरिकाबाट मल तथा बिउबिजन आपूर्ति व्यवस्था यथाशीघ्र मिलाउन सरकारसँग आग्रह गरेको छ। त्यस्तै महिला तथा बालबालिकाहरूमाथि भइरहेको यौन हिंसा तथा सामूहिक बलात्कारको आपराधिक घटनाप्रति कठोर कानुनी कारबाही गर्न र पीडित महिला तथा बालबालिकाको उचित संरक्षण, उपचार, पुनः स्थापना र क्षतिपूर्तिका साथै सुरक्षित एवं सम्मानजनक सामाजिक जीवनको प्रत्याभूतिका लागि बैठकले सरकारसँग माग गरेको छ।
पार्टी पंक्तिलाई पनि सम्भावित विपद र यसको व्यवस्थापनका लागि आवश्यक पर्ने खोज, उद्धार र राहतका लागि तयार रहन अपिल गरेको खतिवडाले बताउनु भयो । भारतले नेपालको सिमाना नजिकै बनाएको बाँधहरूका कारण नेपालको तराईको भूभाग डुबानको समस्यामा पर्दै आएको भन्दै यो समस्यालाई सरकारले गम्भीरतापूर्वक लिन पनि बैठकले भनेको छ। साथै भारतसँग वार्ताको माध्यमबाट दीर्घकालीन रूपमा पहल गर्न पनि भनेको छ।
सुकुम्बासीको समस्या समाधानका लागि पुनर्गठन गरिएको भूमि समस्या समाधान आयोगले यथाशीघ्र वास्तविक सुकुम्बासी पहिचान गरी प्रभावकारी ढंगले दीर्घकालीन समस्या समाधानको पहल गर्न माग गरिएको पनि खतिवडाले जानकारी दिनुभयो ।
बैठकले वास्तविक नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने, संघीयतालाई प्रशासनिक रूपमा व्यवस्थापन गर्ने, निजामती सेवा व्यवस्थित गर्ने तथा तीनै तहको सरकारबीचका काम र भूमिका व्यवस्थित गर्ने ऐन, कानुन यथाशीघ्र निर्माण गर्न पनि बैठकले माग गरेको छ।
काठमाडौं उपत्यका लगायतका मुलुकका विभिन्न स्थानहरूमा झाडापखालाका बिरामी देखिन थालेको हुँदा रोकथाम गर्न पनि माग गरिएको छ ।
‘काठमाडौं उपत्यका लगायका विभिन्न स्थानहरूमा झाडापखालाका बिरामी देखिन थालेकोप्रति सजग हुँदै यो बैठक झाडापखाला रोकथामका लागि जनचेतना फैलाउन, निरोधात्मक कार्य गर्न, बिरामीको उचित उपचार गर्न माग समेत गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताउनु भयो ।
खतिवडाले देशव्ययापी रुपमा एकल उम्मेदवारी दिएर अघि बढ्ने गरी पार्टीलाई अगाडि बढाउने निर्णय भएको समेत जानकारी गराउनु भयो ‘गठबन्धन हुने कुरा छँदैछ । तर, पार्टी बलियो रुपमा उभ्याउन तल्लो तहसम्म एकल उम्मेदवारी दिनसक्ने गरी पार्टीलाई बलियो बनाउने हाम्रो निर्णय हो ।’
संवैधानिक व्यवस्थाअनुसार आगामी मंसिर भित्रमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नुपर्ने हुन्छ । तर, सरकारले निर्वाचनको मिति भने घोषणा गरिसकेको छैन ।