काठमाडौं,असार १४
नेकपा(एकीकृत समाजवादी) को केन्द्रीय परिषद बैठकले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ । पाँच दलीय गठबन्धन जोगाउने र आफ्नो बलमा उभिन देशभर कार्यकर्तालाई खटाउने निर्णय पनि गरेको छ ।
केन्द्रीय परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल भएको थियो। विभिन्न ११ समूहमा भएको छलफलबाट आएका निष्कर्षहरु समूह नेताले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
प्रदेश १ बाट अर्जुन राई, मधेश प्रदेशबाट सुधीर साह, बागमती प्रदेशबाट सूर्यचन्द्र न्यौपाने, गण्डकी प्रदेशबाट प्रतापलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नरेशकुमार भण्डारी, कर्णाली प्रदेशबाट अमरबहादुर थापा, सुदूरपश्चिम प्रदेशबाट हर्कबहादुर सिंहले बैठकमा निष्कर्ष प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै, केन्द्रीय विभागबाट कृष्णबहादुर सापकोटा, काठमाडौं उपत्यका कमिटीका तर्फबाट विजय गुरुङ, विभिन्न आयोगका तर्फबाट विद्या ढकाल र केन्द्रीय सल्लाहकारबाट मोहन केसीले निष्कर्ष प्रस्तुत गर्नुभएको पार्टीका महासचिव डा.वेदुराम भुसालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
समूह नेताबाट आएको निष्कर्षसहित उठेका प्रश्नहरुको जवाफ अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले दिनुभएको थियो । बैठकले समसामयीक सवालका १७ बुँदे प्रस्ताव समेत पारित गरेको भुसालको विज्ञप्तीमा उल्लेख छ ।