काठमाण्डौ,असार ११
नेकपा(एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी ध्रुवको विकाश गरेर अगाडि बढनुपर्ने बताउनुभएको छ ।
कार्की ब्याङ्क्वेट बबरमहलमा शनिबार आयोजित नेकपा (एकीकृत समाजवादी ) को चौथो केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले हाम्रो नेतृत्वमा क्रान्तिकारी धार निर्माण गरेर मात्र समाजवादमा पुग्न सकिने बताउनु भयो ।
सम्मानित नेता खनालले विचारमा क्रान्तिकारिता भए लुरे देखिने मान्छे पनि बाघ भएर निस्किने बताउनुभयो । उहाँले लेनिनको क्रान्तिकारी विचारले मात्रै क्रान्ति गर्न सक्ने बताएको स्मरण गराउनुभयो ।
सम्मानित नेता खनालले नेकपा एकीकृत समाजवादी बुर्जुवा शक्तिको प्रतिपक्षीको रूपमा समाजवादी क्रान्तिको बाहक ध्रुवको रूपमा बलियो पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, हाम्रो पक्षमा आम जनतामा लहर आइरहेकाले क्रान्तिकारी सिद्धान्त, शैली र परम्परा जोगाउँदै समाजवादी क्रान्ति सम्पन्न गर्न तयार रहनुपर्छ ।
यो गठबन्धन समाजवादी क्रान्तिसम्म नपुग्ने बताउदै उहाँले भन्नुभयो, मोर्चाबन्दी गर्दा समान विचारबीचमा गर्नुपर्छ । हाम्रोजस्तो देशमा बहुआयामिक वर्गसंघर्ष गर्नुपर्ने बेला आएको छ । किसान, महिला, गरिब आदिका विरुद्ध भएका अन्याय अत्याचारका विरुद्ध संघर्ष गर्नुपर्नेछ । चुनावदेखि चुनावसम्म होइन । संसदमा पनि जनताका आवाज उठाउनुपर्छ अनिमात्र क्रान्तिकारी संसदवादी भइन्छ ।
सम्मानित नेता खनालले तत्कालिन नेकपाको दुईतिहाईको सरकार नभई एउटा गुटको नायकको पक्षपोषण गर्ने सरकार चलाएका कारण ओलि सरकारको अन्त्य भएको बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले तत्कालीन ओली सरकारले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी काम समेत कटौती गर्ने हदसम्मको काम गर्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले ओली गुटले नीति, विचार र सिद्धान्तका कुरा एकातिर थन्क्याएर पार्टीका मूल्यमान्यता, दृष्टिकोण मिच्ने काम गरेको र दक्षिणपन्थीको मतियार बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ओलीले जो बालुवाटारप्रति बफादार छ उसैलाई मात्र च्याप्ने काम गरे ।
उहाँले ओलीले चारचारपटक बजेट ल्याउँदा समेत पार्टीलाई जानकारी नगराएको बताउनुभयो । उहाँले भन्नुभयोे, –त्यतिखेरको प्रतिपक्षी पनि निदाएको थियो । कतिपय नेता त संसदमै देखिँदैनथे । यस्तो अवस्थामा पनि सहयोग पाइनँ भन्नु केपी ओलीको पागल–प्रलाप मात्रै थियो ।
खनालले केपी ओलीको पागलपनकै कारण दुई दुईपटक प्रतिनिधिसभा विघटन भएको बताउनुभयो । संसद नेकपाको दुई तिहाईको शक्ति थियो । तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले । हामी जतिसुकै प्रगतिशील कानून र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ ।
उहाँले नवौँ महाधिवेसनमा केपी ओली गुट हाबी भएकाले पार्टीमा दुर्भाग्यपूर्ण परिस्थिति निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो, –वैचारिक,राजनीतिक रूपमा दक्षिणपन्थी, प्रतिगामी, फुटवादी, गुटवादी रूपमा केपी ओली गुट अगाडि बढेका कारण पार्टीमा विद्रोह गर्नुपर्याे ।
ओलीमा त्यो अहंकार अहिले पनि कायम रहेकाले पाँच दलीय गठबन्धन गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयोे,–मुलुकको स्थायित्वका लागि मात्र गठबन्धन गरिएको हो । कमसेकम हामीले मुलुकको संविधानको रक्षा गरेका हौँ । स्थानीय तह निर्वाचनमा हाम्रोलागी पूर्ण रुपले फलदायी नभएकाले आगामी निर्वाचनमा आवश्यकता अनुसार कुनैपनि शक्तिसँग सहकार्य गर्ने रणनीतिक योजनाका साथ अगाडि बढनुपर्ने उहाँको कथन थियो ।