सरोजदिलु विश्वकर्मा
कमरेड हो, अभिवादन
१. नेतृत्वले निर्णय गर्ने उही पुरानो शैली भयो, जुन ओली चरित्र र मुखियावादमा आधारित छ । बागमतीमा धेरै पानी बगिसक्यो, अव समावेशी शैलीमा निर्णय लिऔं ।
२. पार्टी भनेपछि आन्दोलनमा मात्र होइन, सरकार र शक्तिसंग समेत जोडिएको हुन्छ । त्यसवेला कार्यकर्ताको विरोध र गुनासालाई सम्वोधन गर्नसक्नु भएन भने आन्दोलनहरुको कुनै औचित्य रहदैन । सरकारमा हुँदा उही परम्परा दोहोर्याउने, विपक्षमा बस्दा भने कार्यकर्तालाई सडकमा उतारी मर्न र मार्न लगाउने कुरा आन्दोलन होइन, हिंसा हो, शोषण हो । त्यसैले सरकार र शक्तिमा जाँदा आन्दोलनमा उठाएका मुद्दा इमान्दारिताका साथ सम्वोधन गरौं । अर्थात कार्यकर्ताप्रति वफादार बन्ने ब्यक्तिलाई मात्र सरकारमा पठाउनोस्, त्यस्तालाई मात्र टिकट दिऔं । त्यस्ता वफादार मानिसहरु सरकारमा गएभने तिनीसंगै राज्य चलाउने ज्ञान सिक्नका लागि कार्यकर्तालाई अवसर सिर्जना गरौं ।
३. भक्तिवाद र नातावादको माथिल्लो तहबाटै अन्त्य गरौं । कार्यकर्तालाई उचालेर पछारेर आन्दोलनमा लगाउने अनि अवसर पाएपछि आफ्ना भाइभतिजा, ज्वाईँचेलाहरु, छोराछोरी, नातागोताहरु छान्ने वा आफ्ना वरपर घुम्नेहरुलाई छनौट गर्ने सामन्तवादी चरित्रको अन्त्य गरौं । ती नातागोता इष्टमित्र, आफन्तलाई वरु पार्टी कमिटीमा राखि परिचालन गरौं र अवसर दिऔं ।
४. हप्ताको एकचोटी कार्यकर्तासंग बस्ने समय निकालौं । उनीहरुका गुनासाहरु सुनौं र टिपोट् गरौं ।
५. मन्त्री बनेकाहरु वा सरकारको जिम्मेवारी पदमा बसेकाहरु, हाम्रा माननीयज्यूहरुले आफूलाई मालिक वा मुखिया वा सरदार वा सवैभन्दा जान्नेसुन्ने नठानौं । आफूले पाएको पद, गाडीघोडा, होटल, सुखसुविधा नीजि सम्पति हो भन्ने नसोचौं । म पार्टी र कार्यकर्ताको प्रतिनिधि हो भन्ने चिन्तन बोकौं र हप्ता ३ घन्टा कार्यकर्ताहरुसंग बसेर नीति, कानुन, सरकारका कामहरु, जनताका मागहरुका विषयमा छलफल गर्ने पद्धति बसालौं ।
६. नेताहरुले कार्यकर्ता भेट्दा अघाएर फुलिएको भ्यागुतोजस्तो नबनौं, जुन ओलीरुप नै हो । कार्यकर्ताको अभिवादनलाई हलुका नठानौं । कार्यकर्ताहरुले तपाईहरुको आवश्यकता परेको वेला परिचालन भइदिनु पर्छ भने कार्यकर्तालाई आवश्यकता पर्दा तपाईंहामी पनि परिचालन हौं ।
७. तपाईंहामी मालिक भएकोले वा सरदार भएकोले वा कुनै मामामाइजु, काकाकाकी, बढाबा बढीआमा वा सासुससुरा भएकाले कार्यकर्ताले खोजेका होइनन् । तपाईंहामी नेता भएकाले कार्यकर्ताले खोजेका हुन्छन् । त्यसैले कार्यकर्ताहरुको फोन उठाउनु पर्दा, ऊसंग कुरा गर्दा सानो होइन्छ भन्ने धारणा त्यागौं ।
८. मेरा कार्यकर्ताहरु मेरा झोले हुन् वा मेरा भारी बोक्ने गधा हुन् भनेर ठान्दै आएको सामन्तवादी सोचलाई आजैदेखि त्यागौं र कार्यकर्तालाई रचनात्मक बनाऔं, उत्पादनसंग जोड्ने विकल्पमा छलफल गरौं, राज्यका नीति निर्माण, नीति परिमार्जन र विकास प्रकृयासंग जोडौं ।
९. कार्यकर्ताहरुलाई रेष्टुरेन्ट वा कफी पसलमा वा चोकमा बरालिन बाध्य पार्नेभन्दा सम्वन्धित कमिटीले प्रचारप्रसारमा परिचालन गरौं । आजैदेखि हाम्रो पार्टी र कलमको प्रचारप्रसार लगाऔं । केन्द्रीय विभागहरुलाई समेत विभागीय प्रमुखले काम दिएर कुनै न कुनै काममा परिचालन गरौं । सदस्यहरुलाई परिचालन गर्ननसक्ने विभागीय प्रमुखलाई अयोग्य ठानि जिम्मेवारीबाट हटाई सक्नेलाई नेतृत्व दिऔं ।
१०.हाम्रो पार्टी नयाँ हो । नयाँ पार्टी आजको युग र आवश्यकताअनुसार चल्नुपर्दछ । यसले नयाँ युगका नागरिकहरुलाई सम्वोधन गर्नसक्नु पर्छ । नयाँ पार्टीले पहिले नै कुनै न कुनै पार्टीमा आवद्ध भएका पुराना कार्यकर्ताहरुलाई पार्टीमा तुरुन्तै तानिहाल्न सक्दैन । अहिले हामीले खोज्ने भनेको भरखर १६ वर्ष कटेको युवा वा कुनै पार्टीमा अपनत्व नभएका र जसलाई मनलाग्छ वा जसले दिन्छ त्यसलाई भोट हाल्दै आएका जनताहरु हुन् । तिनीहरुका लागि कार्यक्रम बनाऔं र पार्टीप्रति आकर्षण गरौं ।
११. वर्गभित्र जातीय मुद्दालाई सम्वोधन गरौं । जुनसुकै कमिटीको नेतृत्वलाई समावेशी बनाऔं । समावेशी ढंगले निर्णय लिऔं ।
१२. जहाँ पनि पार्टी अध्यक्ष वा कमिटीका अध्यक्षहरु नै पुगेर भ्याउनुपर्ने प्रचलनको अन्त्य गरौं । पार्टी वा कमिटी अध्यक्षलाई उपाध्यक्षहरुले सघाउने र परिचालन हुने विधि कायम गरौं । अर्थात पार्टी निर्माणमा उपाध्यक्षहरु सेरेमोनियलको रुपमा निष्क्रीय नबसौं ।
१३. सिनियर हुनासाथ एउटै नेताहरुले विभिन्न पद वा विभिन्न पार्टी कमिटी वा विभिन्न विभागहरु ओगटेर बस्ने परम्परालाई तोडौं र एक नेता एक कमिटी र एक विभाग हुने ब्यवस्था गरौं ।
१४. हाम्रो पार्टीले नयाँ मुद्दाहरु स्थापित गर्नुपर्छ । पुरानो मुद्दामा आश्रित हुने हो भने पुरानो पार्टीभन्दा हामी कसरी फरक भयौं रु त्यसैले जनताको वहुदलीय जनवादको मुद्दा धेरै पुरानो भइसक्यो । यो मुद्दाले नेताहरुलाई स्थापित गर्यो, तिनलाई मात्र कमाउने जमाउने बनायो, देशलाई अस्थितरतातर्फ धकेल्यो, कम्युनिष्टहरुलाई विगठनको बाटोतिर डोहोर््यो । जवजले विशेष जात र विशेष वर्गको मात्र रक्षा गर्यो भने उत्पीडित वर्ग–समुदायलाई तिरस्कार गरिरह्यो । यो सिद्धान्त दलित, जनजाति वा मधेसी जनताको प्रतिकुल भयो । त्यसैले पुरैतवादीहरुको मात्र हित गर्ने परम्परावादी जवजको सिद्धान्तलाई अव नयाँ सिद्धान्तले प्रतिष्थापन गर्नुपर्छ ।
१५. चालु शासकीय स्वरुप र निर्वाचन प्रणालीले देशको हित गर्दैन र निम्न वर्ग समुदायलाई नेतृत्वमा ल्याउन सक्दैन भन्ने पुष्टि भइसक्यो । यस्तो प्रणालीले वरु गणतन्त्रको विगठन गर्दै राजतन्त्रको पुनस्र्थापना गर्ने प्रवल सम्भावना हुन्छ । विदेशी शक्तिहरुलाई चलखेल गरिरहने ठाऊँ दिन्छ । यस्तो प्रणालीमा निकम्मा कर्मचारीतन्त्र हावी हुँदा जतिसुकै राम्रो नेता वा दल भएपनि तिनलाई असफल पारिदिन्छ । साथै देशको आर्थिक भारलेसमेत थेग्ने नसक्ने हुँदोरहेछ भनेर प्रमाणित भइसक्यो । त्यसैले यी दुवै प्रणालीको विगठन गरी नयाँ प्रणालीमा जानुपर्छ । त्यो भनेको प्रत्येक्ष राष्ट्रपती र पार्टीभित्रै निर्वाचित हुने पूर्णसमानुपातिक प्रतिनिधि प्रणालीमा जानुपर्छ । दक्षिण एशियामा असफल भइसकेको यस्तो प्रणालीको स्थानमा विधायकहरुले नीति कानुन मात्र बनाउने र विज्ञहरुबाट सरकार बनाउने अमेरिकी या युरोपियन प्रणाली हाम्रा लागि अनुकुल हुनेछ । यो संवैधानिक मुद्दा लिएर हामी जनतामा जाऔं ।
१६.हाम्रो न्यायपालिका वदनाम र भ्रष्ट हुँदैगएको छ । न्यायपालिकामाथि जनताको विस्वास उडेको मात्र नभई त्यसले राजनीतिक दलप्रति हस्तक्षेप समेत गर्दैआएको छ । यही हुँदै जाने हो भने लोकतन्त्र एकदिन दुर्घट्नामा पर्ने सम्भावना प्रवल छ । त्यसैले न्यायपालिकालाई सार्वभौम संसदभित्र बाँधौं । संसदभित्र सभामुखको अध्यक्षता एक न्याय अनुगमन उच्चस्तरीय स्थायी संरचना बनाई नियन्त्रण गरौं । त्यस्तो संरचनामा सवै राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरु, पुर्वप्रधानन्यायधिसहरु, बार एसोसियनको अध्यक्ष, नागरिक समाजको विशिष्ठ ब्यक्ति महान्याधिवक्ता आदि रहने गरी एक संयन्त्र बनाऔं । यसलाई संविधान संसोधनमार्फत कार्यन्वयनमा लैजाऔं ।
१७. नेताहरुले कार्यकर्ताले बनाइदिएको मञ्चमा उभिएर आफ्ना कुरा लाद्ने, अर्तिवुद्धि दिनेमात्र होइन, कार्यकर्ताकै कुरा ध्यानले सुनौं, बुझौं र उनीहरुको भावनालाई कसरी सम्वोधन गर्ने, गरौं ।
अन्त्यमा पार्टी केन्द्रिय कमिटी वैठकको सफलताको शुभकामनासहित बाँकी अर्को बैठकमा ।