काठमाडौं,असार ७
नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको विभिन्न तीन तहको कमिटीको बैठक बोलाएको छ । पार्टीले पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठकको तयारी गरेको हो ।
मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले असार १० गते पोलिटब्युरो, ११ गते केन्द्रीय कमिटी र १३ र १४ मा केन्द्रीय परिषदको बैठक बोलाइएको हो ।
परिषदको वैठकमा विभिन्न तल्लो तहका कमिटीहरुबाट आएका स्थानीय तह निर्वाचनको समीक्षा आगामी कार्यभार पार्टीको रणनिति लगायतका सवालमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो ।
केन्द्रीय परिषद बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहार परिषद,सबै जिल्लाका अध्यक्ष, प्रत्येक निर्वाचन क्षेत्रबाट १ महिला र १ पुरूष गरी १६ सय बढी नेता सहभागी हुने बताईएकोछ ।
स्थानीय तह निर्वाचनमा गठबन्धनबाट अपेक्षाकृत सहयोग नपाएको भनिरहेको एकीकृत समाजवादीले तीनै कमिटीको बैठकबाट आगामी नीति तय गर्ने छ । एकीकृत समाजवादीले केन्द्रीय परिषद्को बैठक पहिलोपटक बोलाएको हो ।