काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सुशासन र रोजगारी, समाजवादको तयारी का सन्दर्भमा ज्ञापन पत्र बुझाएको छ।
बुधबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पार्टीले प्रधानमन्त्री ओलीलाई मुलुकको सुशासन, रोजगारी, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा सुधारका लागि गर्नुपर्ने कामबारे मागपत्र बुझाएका हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार ओलीलाई एकीकृत समाजवादीले बुझाएको मागपत्रमा मुलुक बेरोजगारी र कुशासनबाट मुक्त हुन नसकेको उल्लेख गर्दै व्यवस्थामा सुधार गर्नुपर्ने माग गरिएको छ।
माग पत्रमा भनिएको छ, 'हाम्रो अपमानपूर्ण इतिहासलाई बदल्न, हाम्रो राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भैसकेको छ। त्यसबाट आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भैरहेको छ । समयको यही मागलाई दृष्टिगत गरेर हाम्रो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारीु नाराका साथ मुलुकका सामु प्रस्तावका अगाडि सारेको छ।'
एकीकृत समावादीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति लगायतका विषयमा आफ्ना धारणा राखेको छ। त्यस्तै, संविधान कार्यान्वयनको विषयमा पुनरावलोकन गर्नुपर्ने प्रस्ताव पनि एकीकृत समाजवादीको छ।
मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा सुझाव दिएकोमा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने विश्वास व्यक्त गर्नुभएको थियो।
भेटका क्रममा प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध गर्नुपर्नेमा जोड दिनुभएको थियो।
एकीकृत समाजवादीको प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालका साथै वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाल, शेरबहादुर कुँवर, निर्वाचन आयोग अध्यक्ष माधव पौडेललगायत सहभागी हुनुहुन्थ्यो।
प्रधानमन्त्री ओली र एकीकृत समाजवादीका नेताहरुबीच करिब एक घण्टा छलफल भएको थियो। त्यस क्रममा प्रधानमन्त्री ओली र एकीकृत समाजवादीका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा अनौपचारिक कुराकानी र विगतका विभिन्न घटनाहरूको बारेमा खुलेर छलफल र स्मरण गरिएको थियो।