काठमाडौँ,असार २
नेकपा (एकीकृत समाजवादी) को १२ औं स्थायी कमिटिको बैठकले ११ बुँदे समसामयिक प्रस्ताव पारि।त गर्दै सम्पन्न भएको छ ।
वैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलोउने यसअघि सचिवालय बैठकले गरेको अनुमोदन गरेको छ।मंगलबारबाट सुरु भएको स्थायी कमिटी बैठकले दैनिक उपभोग्य वस्तुहरुको मुल्य नियन्त्रण गरि सुपथ मुल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गरिएको पार्टीका महासचिव डा. वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले डुबानको समस्या समाधान, मलको अभाव समाधानलगायतका विषयमा पनि सो पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
११ बुँदे प्रस्ताव
१. पेट्रोलियम पदार्थ लगायत जनताको दैनिक उपभोग्य वस्तुको मुल्य अत्याधिक रुपमा बृद्धि भएको छ । मूल्यबृद्धिले जनताको दैनिक जीवन कष्टकर भैरहेको अवस्थामा यो बैठक इन्धनको मुल्य घटाउन र दैनिक उपभोग्य वस्तुहरुको मुल्य नियन्त्रण गरि सुपथ मुल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गर्दछ ।
२. खेतीपातीको समयमा मल तथा बिउको आपूर्तिमा चरम अभाव देखिएको छ । यो बैठक किसानहरुलाई सहज तरिकाबाट मल तथा बिउविजनको आपूर्ति व्यवस्था यथाशिघ्र मिलाउन सरकारलाई आव्हान गर्दछ ।
३. देशका विभिन्न स्थानहरुमा महिला तथा वालिकाहरु माथि भइरहेको यौनिक हिंसा र सामूहिक बलात्कारको अपराधिक घटनाप्रति यो बैठक घोर विरोध गर्दछ । साथै, यस्ता जघन्य अपराधका घटनामा संलग्न अपराधीमाथि कठोर कानूनी कार्वाहीको माग गर्दै पिडित महिला तथा वालिकाहरुको उचित संरक्षण, उपचार, पूनर्स्थापनाको र क्षतिपूर्तिका लागि सरकार समक्ष माग गर्दछ । र सुरक्षित सामाजिक जीवनको प्रत्याभूतिको पनि माग गर्दछ ।
४. यो वर्ष अत्याधिक वर्षा हुनसक्ने प्रक्षेपण गरिएको हुनाले प्राकृतिक प्रकोपको जोखिम न्युनिकरण, विपद व्यवस्थापनको पर्याप्त तयारी साथै संभावित खोज, उद्धार र राहत कार्यका लागि आवश्यक सबैखाले पूर्व तयारीमा ध्यान दिन यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ । साथै यो बैठक हाम्रो सम्पूर्ण पार्टी पंक्तिलाई संभावित विपद र यसको व्यवस्थापनका लागि आवश्यक पर्दा खोज, उद्धार र राहतका लागि तयारी रहन अपिल गर्दछ ।
५. भारतले नेपालको सीमाना नजिकै बनाएका बाँधहरुको कारणले नेपालको तराईको भू–भाग बर्षेनी डुबानको समस्यामा पर्दै आएको छ । अतः यो समस्यालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिई भारतसँग बार्ताको माध्यमबाट दीर्घकालिन रुपमा समाधान गर्नका लागि पहल गरोस भन्ने यो बैठक माग गर्दछ ।
६. अमेरिका लगायत पश्चिमा शक्तिहरुले युक्रेनमाथि प्रभुत्व कायम गर्न गरेको प्रयत्न तथा यसले सृजना गरेको सुरक्षा संवेदनशीलताले गर्दा रुस र युक्रेनबीच युद्ध भड्किएको छ । यस युद्धले विश्व शान्तिमा गम्भीर असर पारेको छ । यस युद्धले समग्र विश्वमा मानविय संकट, आर्थिक मन्दी, महँगी तथा खाद्यान्न संकटको स्थिति सृजना गरेको छ । तसर्थ, युद्धरत पक्षसँग यो बैठक तत्काल युद्धविराम गरी वार्ताद्वारा समस्याको समाधान गर्न र दिगो शान्ति कायम गर्न जोडदार अपिल गर्दछ ।
७. राष्ट्रिय हित, भौगोलिक अखण्डता र सावैभौमिकताको रक्षाका लागि नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको छ । नेपाल पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा छिमेकी तथा मित्र राष्ट्रहरूसँग आपसी हितका लागि सुमधुर सम्बन्ध कायम गर्न प्रतिबद्ध छ । हामी कुनै पनि सैनिक गठबन्धन, प्रतिरक्षा रणनीति र सुरक्षा योजनामा संलग्न हुन सक्दैनौँ । अतः उपरोक्त विषयलाई गम्भीरतापूर्वक मनन गर्दै, राष्ट्रहित विपरित कुनैपनि प्रकारको सैन्य वा सुरक्षा सहयोगको संझौता, समझदारी वा सन्धि नगर्न यो बैठक सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछ ।
८. मार्क्सवाद लेनिनवादको मार्गदर्शनमा सहि विचार र राजनीतिक कार्यदिशा अंगालेका तर विभिन्न पार्टी र समुहमा विभक्त भइ क्रियाशील रहेका कम्युनिष्ट शक्तिहरूलाई कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकताबद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न यो बैठक सबै क्रान्तिकारीहरुमा हार्दिक अपिल गर्दछ ।
९. समाजवादी कार्यदिशा अंगालेका सम्पूर्ण वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण, संघीयता, धर्मनिरपेक्षता तथा संविधानको रक्षाको लागि एकताबद्ध हुन यो बैठक आग्रह गर्दछ ।
१०. प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरुबाट लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहँदै यो बैठक बाम लोकतान्त्रिक गठबन्धनमा रहेका दलहरु लगायत संपूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गर्दछ ।
११. स्थानीय तहको निर्वाचनमा विजय हुनु भएका सम्पूर्ण पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य एवं जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुलाई यो बैठक बधाई ज्ञापन गर्दै उहाँहरुको कार्यकाल सफलताको कामना गर्दछ । साथै, स्थानीय तह निर्वाचनको सफलताको लागि योगदान गर्नु हुने निर्वाचन आयोग, सरकारी निकाय, सुरक्षा अंगलगायत सम्पूर्ण निकाय र ब्यक्तिमा धन्यवाद ज्ञापन गर्दछ ।