(मलामी नबेच्नु होला .............)
तपाईंले शिक्षा बेच्नुभयो, रोजगार बेच्नुभयो
तपाईंको विरुद्धमा हुने सबै प्रतिकार बेच्नुभयो
प्रशासन बेच्नुभयो, कार्यालय बेच्नुभयो
कालो खाएको कालो देखाउने सौचालय बेच्नुभयो ।
जागिर बेच्नुभयो कर्मचारी बेच्नुभयो
इमान र नैतिकता भारीका भारी बेच्नुभयो
ज्ञान बेच्नुभयो, ध्यान बेच्नुभयो
आफू प्रतिकूल भएपछि संविधान बेच्नुभयो ।
खोला बेच्नुभयो नाला बेच्नुभयो
गरिबका छोराछोरी पढ्ने पाठशाला बेच्नुभयो
धर्मकर्म बेच्नुभयो नीतिनियम बेच्नुभयो
राजनीति गर्नकै खातिर कलम बेच्नुभयो बम बेच्नुभयो ।
चामल बेच्नुभयो, नुन बेच्नुभयो
सुनको भाउ राखेर लसुन बेच्नुभयो
खेलकुद बेच्नुभयो, खेलकुदमा दिइने उपहार बेच्नुभयो
तपाईं तिर अख्तियारले हेरेपछि अख्तियार बेच्नुभयो ।
मतदाता बेच्नुभयो मतदान बेच्नुभयो
मान, प्रतिष्ठा दोकानमा राखेर दोकान बेच्नुभयो
चिनी बेच्नुभयो चिनी रोग लागेपछि ओखती बेच्नुभयो
चिनी रोगले रोगी मरेपछि दागबत्ती बेच्नुभयो ।
तपाईं व्यापारी हो बेच्दा बेच्दै मर्नुहुन्छ
कृपया मलामी नबेच्नु होला ......।
(शेखर बस्नेत -रावादोलु-ओखलढुङ्गा-हाल कतार)