काठमाडौँ। ब्राजिलको साओ पाउलोमा यही फेब्रुअरी १९ देखि २४ सम्म भएको अन्तर्राष्ट्रिय जनसभा (आईपीए) को बैठकमा भाग लिएर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का चार जना नेतासहितको प्रतिनिधिमण्डल नेपाल फर्किएको छ।
फागुन ९ गते ब्राजिल प्रस्थान गरेको टोली बुधबार काठमाडौँ फर्किएको हो। प्रतिनिधिमण्डलको नेतृत्व पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख प्रमेशकुमार हमालले गर्नुभएको थियो। टोलीमा बलराम बाँस्कोटा, सावित्रा भुसाल र प्रमेश पोखरेल हुनुहुन्थ्यो।
बैठकमा आइपीएका कम्युनिष्ट पार्टी, मजदूर पार्टी, समाजवादी र प्रगतिशील आन्दोलनका समन्वय समितिका नेता तथा प्रतिनिधिको उपस्थिति थियो। आईपीए समन्वय समितिले स्थानीय, राष्ट्रिय र क्षेत्रीय स्तरमा कामगर्ने पाँचवटै महादेशका राजनीतिक संगठन र जनआन्दोलनको प्रतिनिधित्व गर्छ। उक्त निकायले राजनीतिक अभिमुखीकरण, सांगठनिक रणनीतिबारे छलफल र बहस सिर्जना गर्ने कामगर्छ।
आईपीए पुँजीवाद विरोधी, साम्राज्यवाद विरोधी, पारिस्थितिकी र नारीवादका वरिपरि एकता निर्माण गर्ने अन्तर्राष्ट्रियतावादीको पक्षधर संस्था हो। बैठकमा संयुक्त राज्य अमेरिकामा ट्रम्पघटना, गाजामा नरसंहार, युक्रेनमा युद्ध र पूँजीवादको संकट र वर्तमान संयोजनको सामना गर्नेबारे छलफल भएको थियो।
संसारभरका मानिसहरूको संघर्ष र प्रतिरोधको बारेमा छलफल गरिएको थियो। कमरेड विजयप्रसादले विश्वको वर्तमान परिस्थितिबारे प्रस्तुति दिनुभएको थियो भने संयुक्त राज्य अमेरिकाका ब्रायन बेकरले संयुक्त राज्य अमेरिकामा ट्रम्प फेनोमेननबारे प्रस्तुत गर्नुभएको थियो।
आज मानवताले सामना गरिरहेको संकटको मात्र समाधानको रुपमा समाजवाद निर्माणगर्ने वृहत उद्देश्यका साथ बैठकले पूँजीवाद, साम्राज्यवाद र सबै प्रकारका शोषण, आधिपत्य र दमनका विरुद्ध श्रमजीवी वर्गका जारी सबै सङ्घर्षप्रति ऐक्यबद्धता प्रकट गर्दै यस वर्षको कार्ययोजनासमेत तय गरेको छ।
बैठकले यस वर्ष यस क्षेत्रलाई प्रभावित गर्ने विभिन्न विषयवस्तुका साथ विश्वभर साम्राज्यवाद विरोधी सङ्घर्षको सिजन सुरुगर्ने निर्णय गरेको छ। एसियाले यस क्षेत्रमा अमेरिकाको बढ्दो आक्रामकताविरुद्ध आइपिएस र एमसिसी जस्ता विभिन्न सुरक्षा र सैन्य प्याकहरू मार्फत लड्ने योजना बनाउनेछ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरूले नेपालको वर्तमान परिवेश, देशभित्र र यस क्षेत्रमा साम्राज्यवादविरुद्धको सङ्घर्ष का साथै एसियाको मदन भण्डारी स्कुलले गरेका कामका बारेमा प्रस्तुत गर्नुभएको थियो।
प्रतिनिधिमण्डलले पीएसएल यूएसए, एमएसटी ब्राजिल, एसएमजी घाना, कम्युनिस्ट पार्टी अफ बेनिन, लेबनानको कम्युनिस्ट पार्टी, क्युबाको कम्युनिष्ट पार्टी लगायतसँग द्विपक्षीय भेटवार्ता गरेको थियो।
पार्टीहरूबीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै किसान, युवा, महिला आदि जस्ता धेरै मुद्दाहरूमा जनस्तरको सहयोग निर्माण गर्न द्विपक्षीय बैठक धेरै सफल भएको थियो।