काठमाडौँ। नेकपा (एकीकत समाजवादी) का पोलिटब्यूरो सदस्य विदुर सापकोटाको निधनप्रति पार्टीका अध्यक्ष माधवकुमार नेपालले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
बिहिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले सापकोटाको ५९ वर्षको अल्पायुमै दुःखद् निधन भएकोमा सिंगो पार्टी स्तब्ध भएको बताउनु भएको छ। विज्ञप्तिमा भनिएको छ, 'हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज कमरेड विदुर प्रसाद सापकोटाको ५९ बर्षको अल्पायुमै दुखद् निधन भएकोमा सिंगो पार्टी स्तब्ध भएको छ।
सबैभन्दा पहिले कमरेड विदुर प्रसाद सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका उहाँकी श्रीमती भारति भेटवाल सापकोटा र छोरी विभु सापकोटा सहित शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।
कलिलो उमेर देखि नै प्रगतिशील तथा वामपन्थी आन्दोलनमा क्रियाशील हुनु भएका कमरेड सापकोटाले छोटो समयमा नै नेतृत्व क्षमताको विकास गर्दै जनसंगठन तथा पार्टीका विविध जिम्मेवारीहरुलाई कुशलताका साथ पुरा गर्नु भएको थियो। प्रखर वक्ताको रुपमा समेत पहिचान बनाउनु भएका कमरेड विदुरले विशेष गरि काभ्रेपलान्चोक तथा बागमतीको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिनु भएको छ। उहाँ पार्टी कार्यकर्ता तथा आम जनताद्वारा समेत पटक पटक अनुमोदित हुनुभएको थियो।
वि,स २०७० सालको संविधान सभाको निर्वाचनमा काभ्रेली जनताको अमुल्य मतद्वारा निर्वाचित भई नेपालको संविधान निर्माणमा महत्वपुर्ण योगदान दिनुभयो। पार्टी नेता तथा जनप्रतिनिधिको रुपमा उहाँले नेपालको प्रगतिशील आन्दोलन, समाज विकास र रुपान्तरणमा गर्नुभएको योगदानलाई हामी उच्च सम्मान सहित स्मरण गरिरहने छौँ।
कमरेड विदुर सापकोटाको निधनबाट हाम्रो पार्टी, काभ्रेली जनता र नेपालको कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ। उहाँको समाजवादको लक्ष्य एवं समाज रुपान्तरण तथा परिवर्तनको चाहनालाई पुरा गर्न थप प्रतिवद्ध रहनु नै उहाँप्रति वास्तविक श्रद्धाञ्जली हुनेछ। हामी उहाँको शोषणरहित न्यायपूर्ण समाज निर्माणको सपनालाई पुरा गर्न समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउन प्रतिवद्ध छौं।'
अलविदा कमरेड विदुर ।