पोखरा,जेठ २२
पोखरा महानगरपालिकाले तीन महिना भित्र महानगर भित्रका सबै घर परिषरमा विरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ ।
आइतवार ५० औं विश्व वातावरण दिवशको अवसरमा महानगरपालिकाले आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरका मेयर धनराज अचार्यले एक घर एक बृक्षारोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने समेत जानकारी दिनुभयो ।
केही वर्ष अगाडि सेती नदिमा आएको अप्रत्यासित बाढी, गतवर्ष मनाङ र मादीमा आएको वाढीको स्मरण गर्दै उहाँले वातावरणीय सन्तुलन कायमका लागि बृक्षारोपण अनिवार्य रहेको धारणा राख्नुभयो ।
पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा र बर पिपल मासिएका उल्लेख गर्दै सडकका किनारामा कस्तो विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसंग बसेर निस्कर्षमा पुगिने बताउनु भयो ।
‘अब जे जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसंग बसेर निर्णय गर्ने छौं । अनि पोखरालाई नारा अनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउने छौं ।’आचार्यले भन्नुभयो । बृक्षारोपणका लागि बृक्षारोपण मात्र नभएर त्यसको संरक्षण हुनुपर्नेमा जोड दिँदै आफूले रोपेका विरुवाको संरक्षणपनि सम्बन्धित संस्थाले नै गर्नुपर्ने बताउनु भयो ।
सरकारले निजी जमिनमा रोपिएका रुख कटानको सन्दर्मभा लिएको निर्णयले आम नागरिकलाई आम्दानी दिने विरुवा रोपेर आयअर्जन गर्ने बाटो खोलिदिएको धारणा राख्दै बृक्षारोपण गरेर यसको फाइदा लिन समेत आग्रह गर्नुभएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २४ को कार्यालय र कश्यप ताल परिसरमा विश्व वातावरण दिवशको अवसर पारेर बृक्षारोपण गरिएको हो ।