हेटौडा,जेठ १९
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रदेशसभाका ९ जना सदस्यहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए । जसमा नेकपा एमालेका तर्फबाट ७ जना, विवेकशील साझा पार्टीका एक जना र नेमकिपाका एक जनाले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
उनीहरुले सरकारको नीति तथा कार्यक्रमको १५ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संशोधन प्रस्ताव अस्वीकृत भएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
प्रदेशसभाको बिहीबार मात्र ३ वटा बैठक बसेर सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । बिहान ८ बजे बसेको बैठकमा एमालेले अवरोध गरेपछि केही समय प्रदेशसभाको बैठक अवरुद्ध भएको थियो ।
एमालेले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईं र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेको मिलेमतोमा कृषि अनुदान आफ्ना मान्छेलाई कार्यविधि विपरित नदिएको भन्दै मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीहरुलाई दवाव दिएको तथा ३ जना कर्मचारीहरुको सरुवा समेत गरेको भन्दै एमालेले विरोध गरेको थियो ।
सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले समाजवादी कार्यक्रम वडा तहबाटै शुरु गर्ने र सो कार्यक्रम आगामी दिनमा यो सबैले सम्झन लायक हुने बताउनु भयो ।
सीमान्तकृत समुदायको पक्षमा नीति तथा कार्यक्रम ल्याउन तत्कालिन सरकारले नसकेको भन्दै अहिलेको सरकारले सीमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएको बताउनु भयो ।
मुख्यमन्त्री पाण्डेले विगतको सरकारले प्रतिपक्षले दिएको सुझावलाई समेत वेवास्ता गरेको र त्यसको नतिजा अहिले जनताले व्यहोर्नु परेको बताउनुभयो ।