काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा दुई दलीय स्टिम लागू हुन नदिने बताउनु भएको छ।
बुधबार संसदमा बोल्दै पूवप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। उहाँले संविधान संशोधनको कुरा गरेर मध्यरातमा हस्ताक्षर गरेको भन्दै नेपालमा दुई दलीय व्यवस्थाको कल्पना नगर्न एमालेलाई चेतावनी दिनुभएको हो।
अध्यक्ष नेपालले भन्नुभयो, ‘के छलफल गर्नुपर्दैनथियो, मध्यरातमा हस्ताक्षर गर्ने हो? दुई दलीय शासन ल्याउन खोजेको हो? नेपालमा दुई दलीय शासन आउन सक्दैन । हामी यस्तो अवस्था आउन दिँदैनौँ।’
बहुदलीय व्यवस्था आफूहरूले ल्याएको भन्दै नेपालले यस व्यवस्थालाई अझै समृद्ध बनाउन चाहने बताउनुभयो। अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा सारै सोझो भएको भन्दै ख्यालगर्न सुझाव दिनुभयो। उहाँले दुई दलीय प्रणाली स्थापित गर्ने कुरा सुनिरहेको भन्दै बंगलादेशको घटनाले सचेत बनाएको बताउनु भयो।
साथै अध्यक्ष नेपालले २०५४ सालदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युद्धसँग जोडिएका विषयमा लगातार संवाद भएको खुलासा गर्नु भएको छ। बुधबार संसदमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा अध्यक्ष नेपालले २०५६ मा पटनामा पहिलो पटक प्रचण्डसँग बैठक बसेको बताउनु भयो।
‘२०५७ साल वैशाख ७ गते दिल्लीमा दोस्रो भेट भयो, २०५७ कात्तिक २ मा पटनामा, २०५८ वैशाख १३ गते गोरखपुरमा भेट भएको थियो’, नेपालले भन्नुभयो।, ‘गोरखपुर घटनाका सम्बन्धमा हिसिला यमीले के भन्नुभएको थियो स्मरणमा आउँछ। २०५८ साउन ३१ सिलगुढीमा भयो।’ सिलगढीमा आफूले प्रचण्डलाई १०बुँदा पढेर सुनाएको भन्दै न्यायपूर्ण युद्ध गर्नुछ भनेपनि अनुचित काम नहोस् भनेर सम्झाएको स्मरण गराउनुुभयो।
उहाँले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कुरा गर्दैगर्दा ६३ हजारभन्दा बढी मुद्दा दर्ता भएको भन्दै गम्भीर अपराध ठानिएका केसलाई कसरी लिने, कसरी पीडितलाई न्याय दिने भनेर सोच्नुपर्ने बताउनुभयो। उहाँले १२ बुँदे सहमतिका सवालमा कतिपयले भारतले गराएको भनेर भन्ने गरेपनि त्यसमा सत्यता नभएको दाबीसमेत गर्नुुभयो।
‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन। मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उहाँले भन्नुभयो,,‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो त्यसमा हामी सहभागी भएकालाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन्।’ उहाँले त्यसबेला आफू रिसाएपछि गिरीजाबाबु र प्रचण्डले बोलाएपछि मात्र सहभागी भएको पनि बताउनुुभयो।