काठमाडौं। नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिता २०२४ मा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै समूह 'ए' बाटै बाहिरिएको छ।
भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो। नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाइन् ।
सम्झना खड्का ७, कविता कुँवर ६, पूजा महतो २, कविता जोशी डक, डली भट्ट ५, काजोल श्रेष्ठ ३ रनमा आउट भइन् । विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहिन् ।
भारतकी दिप्ती शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २/२ विकेट लिए । रेनुका सिंहले १ विकेट लिइन्।त्यसअघि श्रीलंकाको राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो।
भारतको जितमा ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाइन्। उनको यो टी२० आई करिअरको उच्च प्रदर्शन हो ।
अर्की ओपनर दयालन हेमलथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन बनाइन् । भारतलाई ओपनर हेमलथा र शेफालीले १४ ओभरमा १२२ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तय गराएका थिए ।
नेपाललाई स्पिनर सीता राना मगरले हेमलथालाई लङअनमा रुविनाबाट क्याच गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । शेफाली सीताकै बलमा विकेटकिपर काजोल श्रेष्ठबाट स्टम्पिङ आउट हुँदै शतकको अवसर गुमाएकी थिइन् ।
सजीवन सजनाले १२ बलमा १० रन बनाउँदै एलबीडब्ल्यु आउट भइन् । जमीमा रोड्रिग्सले २८ रन र रिचा घोष ६ रनमा अविजित रहे ।
नेपालकी सीता राना मगरले ४ ओभरमा २५ रन खर्चेर २ तथा कविता जोशीले १ विकेट लिइन् ।
समूह ए बाट भारत ३ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुग्यो । पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो ।
नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । नेपालको एसिया कपमा तेस्रो सहभागीता हो । यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेपनि एक खेल जित्न सकेको थिएन ।