काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) समाजवादी केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएको छ।
शनिबार र आइतबार दुईदिनसम्म चलेको बैठकले प्रदेशका इन्चार्ज र सचिवहरुसँग केन्द्रीय कमिटी सदस्यको नाम मागेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।
केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्टीका प्रमुख खतिवडाले केन्द्रीय कमिटी बैठकले सबै प्रदेश र जिल्लाबाट क्लस्टर मिलाएर केन्द्रीय सदस्यका लागि नाम दिन प्रदेश इन्चार्जहरुलाई आग्रह गरेको जानकारी दिनुभयो।
‘बैठकले पूर्णता दिनका लागि प्रदेशका यस भन्दा पहिला इन्चार्ज भएकाहरुलाई यथावत गरेका छौँ, अन्तरिम व्यवस्थाका लागि। प्रदेशका इन्चार्ज र सचिवहरू र यो केन्द्रीय कमिटीमा भएका सदस्यहरूको परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्न केन्द्रीय सदस्यहरुमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्नका निम्ति जिम्मेवारी प्रदान गरिएको छ।’
उहाँले प्रदेशस्तरबाट नामहरु आएपछि त्यसलाई केन्द्रीय कमिटीले निर्णय गर्ने बताउनुभयो। ‘यो जिम्मेवारीअन्तर्गत केही दिनभित्र उहाँहरुले आफ्नो काम सम्पन्न गर्नुहुनेछ । केन्द्रसँग परामर्श गर्नुहुनेछ । अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै हुनेछ’, उहाले भन्नुभयो।
नेता खतिवडाकाअनुसार बढीमा १० दिनमा केन्द्रीय कमिटी सदस्यको टुङ्गो लाग्नेछ। असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालको नाम मात्र टुङ्गो लगाएको छ। केन्द्रीय कमिटीलाई पूर्णता दिने म्याण्डेट सचिवालयलाई दिएको थियो।
सोही म्याण्डेटअनुसार पहिलेका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ। त्यसरी बनेको ९३ जनाको केन्द्रीय कमिटीले थप केन्द्रीय सदस्य चयन गर्न प्रदेशका इन्चार्ज, सचिव र केन्द्रीय सदस्यहरुलाई दिएको हो।
एकीकृत समाजवादीको महाधिवेशन अघि बसेको सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ।